Logo

दार्चुलामा स्याउले बजार नपाउँदा घरमै कुहियो



Spread the love

३१ जेठ, दार्चुला ।
व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो ।

छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पु¥याउने बाटो नहुँदा यहाँ उत्पादित स्याउ घरबारीमै कुहिने गरेको छ । नेपालतिर बाटोघाटो छैन । भारतीय बजार पु¥याउन पनि बढी ढुवानीमै खर्च हुन्छ । भारतीय सेना, एसएसबीले मात्रै स्याउ खरीद गर्ने गरेका छन् । यो वर्ष झण्डै ३० क्विन्टल बढी स्याउ फलेको बोहराले २० क्विन्टल स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गरेको छ । बाँकी १० क्विन्टल स्याउ घरबारीमै कुहिएको अवस्थामा छ ।

“नजिक बजार छैन, बोकेर अर्को बजार पु¥याउन बाटो छैन, उनले भने ”, उनले भने । स्याउ उत्पादनका लागि सबैभन्दा राम्रो माटो र हावापानी भएकाले राम्रो फल्ने भए पनि बजार अभावले नोक्सानी व्यहोर्नुपरेको उनको भनाइ छ ।

“चिनजानका ठेकेदारले भारतीय सुरक्षाकर्मीका लागि स्याउ खरीद गर्छन् । स्याउ गाउँमै प्रतिकिलो ८० भारुमा बिक्री हुने गरेको छ । बाँकी १० क्विन्टल स्याउ बिक्री गर्न नसक्दा रु १० लाख बढी घाटा भयो”, बोहराले भने । विसं २०६० मा भारतकोे हिमालञ्चल प्रदेशबाट २५० बोट ल्याएर स्याउखेती शुरु गर्नुभएका बोहराले अहिले झण्डै एक हजार बढी स्याउका बिरुवा रोपेको छ । झण्डै पाँच रोपनी बढीमा स्याउखेती गरिएको छ । बिहानदेखि बेलुकीसम्म उनले स्याउखेतीमा ध्यान दिईएको छ ।

व्यक्तिगत लगानीमा स्याउखेती गर्नुभएका बोहराले अहिलेसम्म कसैबाट अनुदान सहयोगसमेत पाउनुभएको छैन । स्याउमा मलदेखि पाइपसम्म सबै आफैँले खरीद गरेको उनले बताए । हरेक वर्ष नयाँ–नयाँ स्याउका बिरुवा थप्दै आएका बोहराले सरकारी अनुदान सहयोग नपाएको गुनासो गरे ।

सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको व्यासमा व्यावसायिक स्याउखेतीको सम्भावना राम्रो भए पनि भौगोलिक विकटले समस्या रहेको अर्का स्थानीय सुधा बोहराले बताए । “लगानी गरेका छौँ, तर प्रतिफलको लागि बाटोघाटोको समस्या छ । नेपालतिर बाटो मात्र निर्माण गरिदिएको भए हाम्रो स्याउले बजार पाउँथ्यो”, सुधाले भने , “हिँड्नका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने ठाउँमा हाम्रो स्याउ कसरी बजारमा ल्याउनु ?”

यस क्षेत्रमा अपिनाम्पा संरक्षण, स्याउ जोन कार्यक्रम र व्यक्तिगतरूपमा स्याउखेती शुरु गरिएको छ । तर, बजार अभावमा यहाँका किसान स्याउ कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । उत्पादित स्याउलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र (शीत भण्डार) आवश्यक रहेको उनको भनाइ छ ।

यहाँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट व्यास जान्छन् । स्थानीयस्तरमा उत्पादित वस्तु भारतीय बाटो प्रयोग गरी नेपाली बजारमा पु¥याउन सकिने अवस्था छैन । बोहोराको भनाइ छ, “भण्डारण गर्न उपयुक्त साधन नहुँदा हरेक वर्ष उत्पादित स्याउ ठूलो नोक्सानी व्यवहोर्नुपरेको छ ।”

सरकारले व्यास पुग्न नेपालको बाटो निर्माणमा ध्यान नदिँदा व्यासमा उत्पादन भएको जैविक स्याउ बारीमै कुहिने गरेको किसानको दुखेसो छ । दार्चुला–तिङ्कर सडक निर्माण होला र व्यासमा उत्पादन हुने स्याउ दार्चुला हुँदै काठमाडाँै लैजाउँला भन्ने व्यासीहरूको सपना पूरा हुने छाँटकाँट भने अझै छैन ।

“सरकारले यस क्षेत्रमा सडक नभए पनि बाटो राम्रोसँग बनाइदिए हाम्रो उत्पादनले बजार पाउँथ्यो”, बोहराले भन्नुभयो । यहाँ हरेक प्रकारका फलफूल पाइन्छन् । चीन निकासी गर्नका लागि समस्या छ । भारतमा पनि भर्खर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । एकतिर पनि सडक पहुँच पुग्दा आम्दानी हुन्छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्