Logo

नेपालमा लगानी गर्न महासङ्घको आग्रह



Spread the love

३१ जेठ, काठमाडाैँ – सरकारले गरेको नीतिगत र कानूनी सुधारबाट नेपालमा लगानीको वातावरण बन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ ।

महासङ्घको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को १०८औँ सम्मेलनलाई जेनेभामा सम्बोधन गर्दै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

उनले पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीलाई आग्रह गर्दै नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएकोसमेत स्पष्ट पारे । नेपालको निजी क्षेत्रले संवाद र सहकार्यका माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सामाजिक संवादका माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण पेश गरे ।

सरकारले उद्घोष गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पको स्मरण गर्दै उनले दिगो व्यवसायका माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पुर्याउन सकिएमात्रै उक्त लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

कामको भविष्य, व्यवसायको भविष्यसँग गासिएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले उक्त वस्तुगत तथ्यलाई ध्यानमा राखी गरिने प्रयास, व्यावसायिक नीतिनियममा गरिने सुधार पनि महत्वपूर्ण हुने उल्लेख गरे । आइएलओ सम्मेलन यही जेठ २७ देखि जारी छ । सम्मेलन आगामी असार ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्