२६ जेठ, झापा – प्रथम बिर्तामोड गोल्डकपको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो हाफको तेस्रो मिनेटमा गोलपोस्ट नजिकै जलथलका खेलाडी अभिषेक लिम्बूको हातमा गोलले छोएपछि पूर्वेलीले पेनाल्टी पाएको थियो । पूर्वेलीका कप्तान बिक्की चौधरीले प्रहार गरेको पेनाल्टी किक नै जितका लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच पूर्वेली युथका दिवस उराव घोषित भए । उनलाई बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र सदस्य डिआर कडरियाले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् ।
आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक रेड स्टार फुटबल क्लब र सुनसरीको पञ्चायन फुटबल क्लबबीच हुनेछ ।