२४ जेठ, काठमाडौं – काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा एकाबिहानै हावाहुरीसहितको वर्षा भएको छ । यो हावाहुरीको गति निकै तीव्र भएका कारणले केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।
हावाहुरीले केही रुखहरु ढाल्दाससमेत सडक अवरुद्ध भएको छ । मौसमविद् सुवास रिमालले बिहीबार कैलाली कन्चनपुरमा पश्चिम चापिय असरका कारण हावाहुरी आएको र त्यही प्रणाली पूर्वतिर आएको बताए ।
उनले शुक्रबार बिहान काठमाडौंमा आएको हावाहुरी पनि त्यही चापिय असरले भएको बताए । उनले मेघगर्जनसहितको हावाहुरीको क्रम काठमाडौं बिहान ९ बजेसम्मै रहन सक्ने बताए ।
उनले दिउँसोतिर पनि फेरि यस्तै हावाहुरीसहितको वर्षा हुन सक्ने बताए ।
त्यसपछि बिस्तारै पूर्वतिर सर्नेसमेत उनले बताएका छन् । बंगालको खाडीबाट जलवाष्प आइरहेकाले केही दिनसम्म असर पार्ने नै देखिने मौसमविद् रिमालले बताए । उनले भने, ‘मनसुन अझै सुरु भएको छैन । ढिला नै आउला
। तर मेघगर्जनसहितको वर्षा र चट्याङ लाग्ने क्रम भइरहने छ ।’
उनले सचेत रहेर बस्न पनि आग्रह गरेका छन् । प्रिमनसुनमा विध्वंश मच्याउने क्रम जारी नै रहने मौसमविद् रिमालले बताए ।