Logo

सञ्चित कोषको रकम बाँडफाँड



Spread the love

२४ जेठ, काठमाडाैँ – साविक जिल्ला विकास समितिको सञ्चित कोषको रकम बाँडफाँट गरिएको छ । सङ्घीय सरकारले जिविस खारेज गरेपछि कोषको खाता रोक्का गरेको थियो ।

मौज्दात कोष सञ्चालन निर्देशिका बनाएर सबै रकम जिल्ला समन्वय समितिमा पठाइएको छ । मौज्दात कोषमा रु ३२ करोड ९८ लाख ८० हजार ५२८ रुपैयाँ १९ पैसा रेहेको बताएको छ ।

कोषको रकमबाट स्थानीय तहको विकास निर्माण कार्यका लागि यसअघि प्रस्ताव आह्वान गरेर पत्राचार गरेको जिल्ला समन्वय समिति दाङले जनाएको छ । पालिकाको प्रमुखको उपस्थितिमा बसेको बैठकले सबै तहलाई तीन÷तीन करोड रुपैयाँ विनियोजन गरेको हो । पालिकाले प्राप्त गरेको रकम स्थानीयले कार्यक्रमको आधारमा खर्च गर्ने छन् । जिल्लामा १० वटा पालिकालाई रु ३० करोड र बाँकी दुई करोड ९८ लाख ८० हजार रकम जिल्ला समन्वय समितिले राख्ने निर्णय भएको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिए ।

सबै तहलाई बोलाएर कार्यविधिको बारेमा जानकारी दिएको र बजेट बाँडफाँट गरेको समन्वय अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिए । कार्यविधिले नगरपालिका र गाउँपालिका भवन निर्माणलाई प्राथमिकता दिएको छ । त्यसपछि वडा कार्यालयको भवनलाई राखेको छ । विद्यालयको भवन निर्माण, खानेपानी तथा पूर्वाधार विकास निर्माण रहेका छन् ।

स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बनाउन सकिने कार्यविधिमा उल्लेख छ । गाउँ÷ नगरपालिका वा वडा कार्यालय भवनको लागि कूल बजेटको सम्बन्धित स्थानीय तहले ४० प्रतिशत बेहोर्नु पर्नेछ । स्थानीय पूर्वाधार तथा अन्य योजनाको लागि २५ प्रतिशत लागत सहभागिता बेहोर्नुपर्छ ।

स्थानीय पूर्वाधारको मर्मत आयोजनाका लागि ५० प्रतिशत लागत सहभागीले बेहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ । स्थानीय आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाएर कार्यपालिकाबाट स्वीकृत गरेर जिससमा पेस गर्न आह्वान गरिएको जिसस उपप्रमुख श्रीधर शर्मा पौडेलले बताए । प्रस्ताव स्वीकृत गर्न व्यवस्थापन समिति गठन गरिएको छ । जिसस प्रमुख संयोजक रहने समितिमा उपप्रमुख सदस्य र समन्वय अधिकारी सदस्य सचिव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्