२३ जेठ, काठमाडौं ।पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले पराजित गर्दै युईएफए नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ । त्यसैक्रममा, उनको ५५ दिनपछिको ह्याट्रिकसँगै चर्चामा छ, ३५५ दिनपछि उनले गरेको फ्रिकिक गोल ।
गएको मार्चमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टसबाट रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यसपश्चात नेसन्स लिगमा स्वीटरजल्याण्डविरुद्ध नै उनको ह्याट्रिक गोल हो ।
रोनाल्डोको खेलपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले उनलाई ‘उच्च प्रतिभा’को रुपमा तारिफ गरे । हुन पनि ३४ वर्षमा रोनाल्डोले देखाइरहेको खेल अविश्वसनीय नै छ । ‘रोनाल्डोको खेलको तारिफ गर्दा मैले अहिलेसम्म सबै विशेषणको प्रयोग गरिसकेँ होला । उनी खेलमा देखिने स्पष्ट भिन्नता हुन् । जो भएमा निराश हुनु पर्दैन’ सान्तोषले भने ।