२२ जेथ, काठमाडौं – दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नुवाकोट-११ र काठमाडौंको दिपशिखा युवा समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार बुधबार हुने उद्घाटन खेलमा नुवाकोट र दिपशिका भिड्ने भएका हुन् । यस खेलको विजेताले २२ गते विजय युथ क्लब हेटौडासँग खेल्नेछ ।
आगामी ३१ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा संकटा क्लब र चितवन-११ बीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
यस्तै नेपाल पुलिस क्लबले २६ गते अर्काे विभागीय सशस्त्र प्रहरी बलको एपीएफको सामना गर्नेछ । ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबसँग जेठ २७ गते खेल्नेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख पाउनेछ भने उपविजेता टिमले ३ लाख पाउँने आयोजकले जनाएको छ ।
गत संस्करण प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको थियो ।