Logo

आमोई : एक सुन्दर स्मृती कथा ।



Spread the love

नेपाली समाजको लागि बालविवाह कुनै नयाँ प्रसङ्ग होइन । कानुनी रुपले धेरै अघि हटे पनि समाजमा अझैं यसका छुटपुट अवशेषहरू स्पष्टै देख्न सकिन्छ । बालविवाहले निम्त्याएको एक बिकराल समस्या हो,’बालविधुवा जिन्दगी’ । र, यहीँ कष्टकर जिन्दगीको कथा हो, ‘आमोई’ ।

२४ वर्षे लामो शिक्षण पेशाबाट साहित्य लेखनमा छिरेका भुवनहरि सिग्देल, ‘आमोई’ उपन्यास मार्फत आफ्नै घरकी दुखी हजुरआमाको कथा बताउँछन् । उनले यस उपन्यासलाई साहित्य सृजना भन्दा बढी आमोईको पैत्रिक ऋणको रूपमा स्वीकार्न पाठक सामु आह्वान गरेका छन् ।

आमोई अर्थात रोमकुमारी सिग्देल । जसको बिहे करिब ९ वर्ष मै छिमेकी गाउँका एक युवक सँग गराइन्छ । को-कस्तो-कहाँको केही थाहा नपाएरै उनको बिहे सम्पन्न हुन्छ । हुन त बिहेको अर्थ नै राम्ररी नबुझेकी उनलाई यी सब कुरा बुझ्नु, महाभारत बुझ्नु बराबर थियो । यसरी बिहे भएको ३ वर्ष मै उनी विधवा हुन पुग्छिन् । यहीँ नै उनको जिन्दगीको पहिलो तरङ्ग बन्न पुग्छ । तर उनलाई के थाहा एकल हुनुको अर्थ ! जब कि उनी त त्यतिन्जेल सम्म पनि मृत्युको अर्थ बारे नै बिल्कुल अन्जान थिइन् । तर, जब उनी आफ्नो स्थितिबारे जानकार हुन्छिन्, तब बल्ल सुरु हुन्छ, आमोईको जीवन संघर्षको कथा ।

बाढी आउँछ, दु:ख बेसाउछ । पहिरो खस्छ, पीडा थुपार्छ । भुइचालो आउँछ, जिन्दगी डगमगाउँछ । अनि रोग आउँछ, परिवार सखाप बनाउँछ । तर, पनि उनको साहस डगमगाउँदैन । दु:ख-पीडाका थुप्राहरुलाई निरन्तर उनी बेल्चा लाउँदै समथर पार्दै जान्छिन् । संघर्षको प्रेरणा त कोहि यी आमोईबाट सिकोस् ।

जिन्दगीको दौरान, कुल वंश जोगाउनैका निम्ति उनी आफ्नी किशोर बहिनीको बिहे बयोबृद्ध जेठाजु सँग गराउनमा पनि पछि हट्दिनन् । उनका यी यस्तै साहसी कदमहरूले समाजमा उनलाई निकै आदर्श तुल्याएका छन् । समयले दिएका ठक्करहरू सँगै एक नादान कसरी महान बन्न पुग्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हुन्, आमोई ।

‘मदन पुरस्कार २०७३’ को उत्कृष्ट ७ कृतिहरूको सुचीमा पर्न सफल यस उपन्यास मार्फत लेखकले आमोईलाई एक सशक्त नारी चरित्रको रुपमा नेपाली साहित्य आकाशमा प्रक्षेपण गरेका छन् । उपन्यासमा आमोई मात्र नभइ उनकै बहिनी सान्नानी, न्याउरी जस्ता महिला व्यक्तित्वलाई पनि समाजका आदर्श नारीको रुपमा स्थापना गरिएको छ ।

लेखकले करिब ८ दशक अघिको कथा बताउँदै गर्दा अहिले पनि हाम्रो समाज यस्तै नियती र दुर्नियतीको बन्धनबाट पुर्ण मुक्त हुन नसकिरहेको स्थिती हामी सामु स्पष्ट छ । होला बालविवाह अन्त्य हुन थालेको होला । हुन सक्छ बालविधवा हुने क्रम अन्त्य हुँदै गरेको हुन सक्छ । तर अझै पनि एकल महिला माथी समाजले फ्याँक्ने नजर उस्तै उस्तै छ । अझै पनि उनीहरू माथी पर्ने बज्रपातहरू उस्तै उस्तै छन् । र, अझै पनि प्रकोपहरूले गरिब दुखीहरूकै जिन्दगी सखाप पारीरहेकै छन् । त्यसैले यो कथा ती सम्पुर्ण आमोईहरूको हो, जो हिजोका दिनमा पिल्सिएर गएँ, आजका दिनमा अलिकती भएनी खुल्ला सास फेर्न खोज्दैछन् र चाहन्छन् भोलिका दिनमा बस् खुलस्त बाच्न पनि पाइयोस् ।

आत्मकथा भनिए पनि ‘आमोई’ आख्यानात्मक शैलीमा हुबहु उपन्यास जसरी नै प्रस्तुत गरिएको छ । वास्तविक कहानी भएकोले आवश्यक अनावश्यक पात्रहरू थुप्रो  राखिनाले कतिपय ठाउँमा उपन्यास केही गोलमोल हुन पुगेको जस्तो देखिन्छ । भाषा शैली नयाँ परिष्कृत नहुनाले उपन्यास जति रसिलो हुनु पर्ने हो त्यति हुन बाट चुकेको महसुस सहजै हुन्छ । दोश्रो संस्करण सम्म आइपुग्दा पनि उपन्यासको सम्पादन राम्रोसँग नगरिएका ठाउँहरू देखिनुले पुस्तकको ओजमा अलि ह्रास आएको महसुस हुन सक्छ । अनि, कतिपय कथावस्तुहरू यस अघि अन्य पुस्तकहरू मार्फत नै आइसकेको हुनाले पनि पुस्तक सोचेजती ताजा नलाग्न सक्छ ।

उल्लेखित केही कमी-कमजोरीहरू छोडेर ‘आमोई’ नेपाली साहित्यको एक प्रेरणादायी पठनीय पुस्तकको रुपमा लिन सकिन्छ । एउटै पुस्तकमा करिब ८ दशकको कथा प्रस्तुत गरिएको हुनाले तत्कालीन समय बारे जान्न चाहनेहरूका लागि पनि उपन्यास निकै लाभदायी हुन सक्छ ।

‘आमोई’को ओजबारे प्रष्ट पार्दै समिक्षक शेखरमणि नेपाल लेख्छन्,”यो दशककै सर्वोत्कृष्ट आख्यान हो आमोई ।”

उनको भनाईलाई नै आधार मान्ने हो भने पनि ‘आमोई’ नेपाली साहित्य पारखीहरूले पढ्नै पर्ने उपन्यास हो भन्दा सायद फरक नपर्ला !!!

आमोई

लेखक : भुवनहरि सिग्देल

प्रकाशक : शिखा बुक्स

पृष्ठ : २८०

मूल्य : रू ३५० /-

०००

०००

 

 

 

 

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्