सुमन आचार्य
दशैं भित्र्याई सकिएको थियो । कामकाजका कार्यालयहरु बन्द हुने तरखरमा थिए । म भने गोरखापत्र संस्थानमा कार्यरत हुनाले अष्टमीको दिन अगावै बिदा नमिल्ने भएपछि बाध्यताले अफिस जाने-आउने गरिरहेको थिए । घरका अन्य सदस्यहरु दशैं बिदाको मौका छोप्न दार्जिलिङ, सिकिम भ्रमणको लागि निस्की सक्नुभएको थियो । छतमा रहेको झुलामा एक्लै बसेर वरपरको मनमोहक दृष्यावलोकन गर्दै गर्दा अचानक बिछट्टैले मडारिँदै गरेको त्यो बादललाई देख्न पुग्छु, त्यही बादललाई विभिन्न आकारमा कल्पना गर्दै काल्पनिक संसारमा रम्दै गर्दा मुहारमा त्यसै-त्यसै हाँसो भरिएर आउँछ ।
निकै नै बेर पछि तल आफ्नो कोठामा गएँ, खाटमा पल्टे झै गरेँ । मन स्थिर छैन । के गरौं, कसो गरौं ? छटपटी झन् बढ्न थाल्यो । अचानक सम्झना आयो, चक्रपथमा भेटिएकी ती अपरिचित ‘भेस्पा वाली’ ! सम्झिन थालें उसैलाई । मूख्य पात्र बनाएर केही शब्द कोरौं कि भन्ने ठानेर कम्प्युटरको क्यानभासमा उतार्ने प्रयास गरेँ ।
घर बनाउँदा जग्गा नमिले जस्तो, लेख्न खोज्छु कहिले शब्द पाउँदिन, शब्द पाउँछु त त्यसलाई शब्दका मालामा उन्न नजान्दा अवाक भईसकेको थिए । कहिले काँहि कुनै ठाउँको भ्रमण गरिसकेपछि साथीभाइले यस भ्रमणको बारेमा पनि लेख् न है भन्दै हौस्याउँथे र पो जाँगर पनि चल्थ्यो, केहि लेख्नका लागि । यहाँ कसैको हौसला नै छैन त जाँगर पनि किन लागोस् ? चिने-जानेको कोही होईन सधैं मेरो ६ वर्ष पुरानो बाइकसँग प्रतिस्पर्धाको हिसाबले हुइकाउँने त्यो अपरिचित अनुहारलाई सम्झदै के नै लेख्नु भन्ने सोच्छु ।
यसखाले यात्रा अनि भोगाईलाई शब्दमा उतार्न अनि मेरो मनमा मडारिएका अनेक तकर्नालाई ओकल्न कै लागि भएपनि तयार हुनुपर्ने थियो । यस्ता भोगाई, जो ओकल्न पाउँदा रसले भरिएको रसबरी खाए भन्दा पनि बढी अनुभूत गर्न पुग्छु । आनन्द आउँछ । मज्जा आउँछ ।
बुढानिलकण्ठको त्यो सेरोफेरोमा प्रवेश गर्दै गर्दा मेरो मनले भनेको थियो, अब यस भेगका मानिससँग घनिष्ठता बढाउनुपर्छ, सामिप्यतामा हराउनुपर्छ । त्यो अपरिचित अनुहार परिचित हुँदै गर्दा मौनता मै मनको लड्डु फुटाउन थालें । यसलाई आफ्नै नजिकको साथी बनाउन पाए त…!
जिन्दगीको संयोग नै मान्नु पर्दछ, जागिरको दौरान मै भएपनि यसखालको भेटघाट र आँखा देखादेख हेराहेरको परिधीमा रही हामी अपरिचित अनुहार परिचित भएका थियौं । सोचें, मेरो त्यो बेलाको सोचाईले पूर्णता पाउने भो ।
त्यो अनुहार जस्तै खाले राम्रा शब्दले बर्णन गरेपनि फिक्का नै लाग्थ्यो । पहेलो रङ्गको उसको त्यो स्कुटी, हेलमेट अनि उसको त्यो हिस्सी परेको अनुहार, मिलेको जिउँ, होचो कद । आहा ! गोरो वर्णकी उसलाई देख्दैमा मदहोस हुने म जस्ता अरु कति थिए होलान् ?
०७५ कार्तिक भन्दा अघिका ती जम्काभेट पछि पनि छिटफुट बाटोमा हुने भेट । यस्तै समय फेरि पनि जुर्यो, फेरि ०७५ माघ ५ को त्यो जम्काभेट । त्यो चक्रपथको बाटो दुइ महिना पछिको उसको त्यो हेराइ उही उस्तै नै लाग्थ्यो । करिब-करिब ६ पटकको जम्काभेट, एकैखाले आँखा जुधाई । त्यो संयोग नै मान्नुपर्छ । केही भन्न खोजेजस्तो ठानें, ट्राफिक जामले गर्दा आमने सामने भएका हामी बोल्ने आँट भएन । एकै छिन पछि जाम खुल्यो । खुल्ना साथै सबैलाई अचम्मित पार्ने खाले त्यो स्कुटी हकाई । सोचें, आज त पिछा गर्नै पर्यो । जे पर्ला-पर्ला भनी लागें उसैको पछि….।
बालुवाटारको भेन्चर्स क्याफेमा पुगेर उस्को स्कुटी टक्क अडियो । त्यही ठाउँमा गएर मोटरसाइकल अड्याएँ, छिरे भित्र । अलि नर्भस भएँ, भित्र छिर्नासाथै । उसले हेरिहाली । अलि अप्ठेरो भो । चिसो अर्डर गरेँ । आँखा मोडिए मेरा, हेरिरहेकी रहिछे । मैले आँखाले इसारा गरें बाहिर आउनका लागि । ऊसँग अन्य दुइटा साथीहरु पनि रहेछन् । सायद बुझी होला भनेर म बाहिर निस्किएँ । एकैछिनमा उसले पछाडिबाट बोलाए झैं लाग्यो ! हाँसोले भरिएको उसको त्यो अनुहार सहित ।
ऊः बोलाउनुभएको हो ?
मः हो….! स्कुटी त राम्रो चलाउँने रहेछौ, इम्प्रेस्ड भएँ । त्यसैले तिम्रो पछि परे….!
झिनो आशासँगै खुसी मुद्रामा बोल्न सुरु गरें । पहिलो पटक बानी नपरेको भएर हुनसक्छ आँखा-आँखा बोले । दिलसँग दिलको सञ्चार भो । एक अर्काको मिलन भो । मुख त्यत्ति बोलेन । टेबलमा चिसो आइसकेछ, भित्रबाट बोलावट भयो ।
मः चिसो खाने ? मैले औपचारीकता निभाए ।
ऊः नाई ! भो नखाने । म साथीहरुसँग छु ।
मः ओके !
ऊः पछि कुरा गरौँला है ?
मः हुन्छ । तर कहिले ? मनमा खुल्दुली बढ्यो । प्रति प्रश्न गरिहालें ।
ऊः छिट्टै नै भेट्नेछु ।
मः हुन्छ ।
ऊः सि यु सुन । हस् ! उसले मन्द मुस्कान साथ विदाईको हात अघि बढाई ।
भित्र छिरें । चिसो खाँदै सोच्न थालें, बिना सम्पर्क नं. कसरी भेट्न सम्भव छ होला ?
०००
दिन बित्दै गए । मेरो अफिस आउ-जाउ चलेकै छ । करिब-करिब बुढानिलकन्ठको सेरोफेरोमा बसोबास गर्न थालेको पनि चार वर्ष नाघिसकेको छ । सधै घरदेखि न्युरोडसम्मको बाटो छिचोल्नु पर्ने दैनिकी नै बनिसकेको थियो । घरदेखि करिब १० किमी दुरीमा रहेका मेरा दुईवटा अफिस गोरखापत्र संस्थान र गोल्छा अर्गनाईजेशन । यी दुबै अफिस एकै ठाउँमा भैदिनाले सजिलो थियो, उसँग बाटोमै भएपनि देख्न, भेट्नकै लागि पनि । हरेक पल उसैको खोजीमा भौतारी रहन्थ्यो म भित्रको मेरो मन ।
करिब २ महिना पछि न्युरोडमा अचानक जुर्यो अर्को भेट ।
अफिसको कामले बैंक जाँदै थिएँ । पछाडिबाट कसैले बोलाए झैं लाग्यो ! हेरें । उही अनुहार उही भेस्पा वाली ! अचम्म लाग्यो । भेट हुँदा परिचित जस्तै भइसकेका थियौं हामी । उसले हेल्लो भन्दै साथीत्वको नाताले हात अगाडि बढाई । मैले पनि बढाएँ । त्यसदिन घर, थर, ठाउँ, ठेगान खुल्यो । विविध कुराकानी भए । मलाई पनि कर लाग्यो । जानकारी दिए आफ्नो बारेमा । हतारमा छु भन्दै थिई । सम्पर्क नम्बर मागी उसले, मैले दिएँ । छुटियौं ।
०००
अचानक भइदिने यस्ता भेटघाट साँच्चिकै सम्झन लायकका हुँदा रहेछन् । उसको पहाड घर पाल्पा, ‘सोफी’ उसको नाम दिमागमा छिराएँ । अन्य कुरा मत्लब दिइनँ । केही बेरमा बैंकको काम सकाएर अफिस पुगें, सोच्दै छुँ उसैलाई । अन्योलता छाएको छ मनमा । अब के हुन्छ सोच्न भ्याएको छैन । त्यो अपरिचित अनुहारसँग कुनै कारणबिना नै झाँगिदै गरेको त्यो सामिप्यतालाई कसरी परिभाषित गरौँ र खै ? मनै त हो सामिप्यता बढाउने कि दूरी बढाउने भन्ने कुराको निष्कर्ष उसैले नै निकाल्छ ।
यसखाले मानिसको मनलाई अझै पनि बुझ्न सकिरहेको छैन । जीवनमा घटेका यस्ता खाले घटना, परिघटनासँगको संर्घषका ध्वनि गुन्जिरहन्छन्, महशुस गर्दैछु । त्यो अपरिचित अनुहारसँगको सामिप्यता बढ्दै छ । आखिर किन ? आफैँलाई प्रतिप्रश्न गर्दै छु । सधैं यस्तै त पक्कै नहोला नि ! लामो सुस्केरा फेर्दै मनलाई सान्त्वना दिएँ । नजिकै रहेको पानीको बोतल उठाएँ । पानी खाएर मनलाई शीतलता दिने प्रयास गरें ।
करिब-करिब भेट नभएको पनि १४-१५ दिन बितिसकेको छ । करिब साँझ ९ बजेको हुँदो हो । गोरखापत्र संस्थानबाट काम सकाएर घर फर्कने तयारीमा थिएँ । अचानक फोनको घण्टी बज्यो । बगलीबाट निकाल्दै थिएँ, उठाउन भ्याइनँ । हेरें अपरिचित नम्बर, बिल्कुलै नयाँ नम्बर । दोस्रोपटकमा रिङ्ग बज्यो । हेरें, उही नम्बर दोहोरियो । कल रिसिभ गरें ।
– हेल्लो, हजुर !
– सुमन जी सँग कुरा गर्न सक्छु ?
मिठास पुर्ण आवाज आयो ।
– मिस्टर आचार्य नै बोल्दैछु हजुर ।
– तर मलाई सुमन जीसँग कुरा गर्नुछ ।
– हो । म सुमन आचार्य नै बोल्दैछु । तर मैले चिनिनँ नि ।
– साँच्चि नचिन्नु भा’को ?
– अँ…हो चिनिनँ !
– एकचोटी कोसीस त गर्नुस् ।
उसले भनिरही ।
– हिन्ट्स पाए सजिलो हुने थियो । सायद नम्बर मैले सेभ गर्न बिर्सिएछु क्यार ? सुन्न त सुनेकै स्वर हो । चिन्नै गाह्रो भयो ।
औपचारिकता निभाएँ ।
– उसोभए एउटा हिन्ट दिन्छु, सायद भइ पो हाल्छ कि ?
– सुनौं न त ।
– आजभन्दा दुई हप्ता अघि न्युरोडमा कसैसँग भेट भएको थियो ? हा..हा..हा..
– भेट त कतिसँग हुन्छ नि हौ, दिन दिनै ।
मैले मजाक गरे, हाँसी हाँसी जवाफ दिएँ । उ ‘सोफी’ नै हो । मैलै चाल पाइसकेको छु तर पनि अझैं पनि नचिने झैं गर्दैछु । हरेक दिन याद आउने मान्छेलाई कसरी बिर्सन सकिन्थ्यो र ! ‘सोफी’ नाम कसरी भुल्न सक्थ्यो र यो मनले !
सोचे झै गरे । नाटक थियो यो सबै । किनकि अझै यो कललाई मैले जतिसक्दो लामो नै बनाउने सोचमा थिएँ म ।
– कति बेसरमको कुरा, आफैले नम्बर दिएर पनि चिनिनँ भन्ने ? म ‘सोफी’ ।
– ओ माइ गड ! मेरो त सोचाइ बाहिरको कुरा थियो, तिमीबाट कल आउँछ भन्ने ।
नाटक पार्दै बोलें ।
– फोन उठ्न पनि गाह्रो त्यही माथि फोन दोहोर्याएर गर्नुपर्ने । त्यो पनि यतिका समयसम्म चिनिन रे ! गजबको मान्छे यार तपाई त । अझ हिन्ट दिँदा पनि नचिन्ने ? फोन नम्बर लिन जान्नेले कल गर्न चाँहि नजान्ने ? कि याद पनि थिएन ? हुन त कतिलाई सम्झिएर भ्याउनु ? म जस्ता त कति होलान् कति ?
एकोहोरो प्रश्नको तगारा तेर्सिन थाले । मैले सुनिमात्र रहें ।
हाँस्दै भनें,”होइन हौ ! बगलीमा थ्यो निकाल्दैमा मिस्डकल भएछ त क्यारम ? तर सम्झन चैं सम्झेकै हो है । कल पो गरिनँ त ! मेरो मजाक गर्ने शैली उस्तै । धेरै बोलिनँ ।”
– अरे यस्तो गजबको कुरा नगर्नुस् ।
मैले जे हो त्यहि भन्दैछु । बाँकी तिम्रो कुरा कसरी बुझ्नेछौ ।
औपचारिकता निभाउन कै लागि भने पनि सोधें,”खाना खायौ ? के गर्दैछौ ?”
बोल्ने अरु कुरै नभएपछि के गर्नु एस्तै दिक्क लाग्ने प्रश्न गर्न मन लाग्ने रहेछ । मन खुसी छ, चङ्गा जस्तै उडिरहेछ । यतिका कुरा गर्दा १८ मिनेटभन्दा बढि भैसकेछ । उसले मेरा सवालका जवाफ नदिकनै पछि कल गर्छु भन्दै फोन काटी । त्यो १८ मिनेट, १८ सेकेन्ड भन्दा पनि थोरै झै थियो मेरा लागि । उसको त्यो नमिठो बोली पनि मेरा लागि रसबरी सरह गुलियो झै लाग्थ्यो । उसको पर्खाइमा, अनुपस्थितिको तड्पाईमा सम्झिएर बित्ने गरेका ती दिन उसको एक कल फोनले यति मीठो बन्छ भन्ने कल्पना बाहिरको थियो, मेरा लागि ।
राति अबेरसम्म पनि निन्द्रा लागेन । मनले उसैलाई सोचीमात्र रह्यो । के होला-कसो होला सोच्न सकेको छैन । तर उसलाई मनले भित्रैदेखि आफ्नै ठानिरहेछ । सोच्दा-सोच्दै कुन बेला निदाएछु पत्तै भएन ।
बिहानीको घामको किरणहरु झ्यालबाट छिचोल्दै भित्र पस्दै छन् । घडीले विहानीको करिब ६ बजाई सकेको रहेछ । अचानक मोबाइलमा म्यासेज आयो । उसैको होला भन्ने सोचेर हतारमा हेरे, एनटिसीले व्यालेन्स सकिएको सन्देश पठाएको रहेछ । निकै नै दुःखी तुल्यायो ! पुनः उठ्न जाँगर चलेन । केहि समय लगत्तै पुनः एसएमएसको घण्टी बज्यो । हतार हतार हेरें- “ओइ हिरो गुडमर्निङ ! चिया खानुभयो ? मिस यू सो मच !” उसैको गुडमर्निङ म्यासेज रहेछ । मनले चङ्गाभन्दा पनि हलुका महशुस गर्यो ।
घरमा सधैं ममीको गालीले उठ्ने बानी परेको म, आज उसको म्यासेजले उठ्न पुगें । मनमा निकै कुराहरु खेल्न थाले । मैले पनि एसएमएस पठाए ।
“मिस यु टु…टेक कियर…।”
निकै नै बेर पछि किचेनमा गएँ । ममीले कराउँदै हुनुहुन्थ्यो । यसले जिन्दगीमा के गरेर खाला ? ८ बजे उठ्यो, यस्तालाई छोरी पनि कसले दिन्छ ?
“छोरी नदिए के भो त ? भगाएरै ल्याउने हो म त…” मैले मजाक गर्दै भनें । खाना खाएँ र सरासर अफिसका लागि निस्किएँ ।
दिनहरु बितिरहेछन् । त्यसपछिका कुनै पनि दिनमा सम्पर्क शून्यतामा परिणत भइसकेको थियो, फोनबाटै छिटफुट रुपमा हुने त्यसखाले सम्पर्कले हरेक मिनेटलाई घण्टामा, अनि सेकेन्डलाई मिनेटमा परिवर्तन गरे झैं महशुस हुन थालेको छ । मनमा अनेक थरि तर्कना आइरहन्छन् । मनै त हो के-के सोचिरहन्छ, अपरिचितलाई पनि कति छिट्टै नजिक बनाइदिने रहेछ यो मनले । सम्बन्ध पनि कति छिट्टै प्रगाढ बनिदिने रहेछ, हिजै जस्तो लाग्छ चिनजान भएको तर आज आफ्नै दिलमा राज गर्ने भैसकिछ ।
जीवनलाई सहज तरिकाले लिन सक्ने आफ्नोपन बुझेको एक सच्चा साथीको आवश्यकताले भौतारिदै गरेको मेरो मनले उसैलाई सोच्न थालिसकेको थियो । जीवनका हरेक मोड, परिस्थिती, अनि मेरा हर प्रयासलाई साथ दिने मेरो दुखलाई आत्मसाथ गरी हौसला प्रदान गर्ने, विश्वास गर्ने जीवन संगिनीको रुपमा सोफीलाई नै सोचिसकेको थियो । जब-जब म सोफी सँग बोल्थे, विना कारण नै ओठमा हाँसो छाइदिन्थ्यो । सायद यही नै त होला नि माया जब सानो सानो कुराले पनि ओठमा मुस्कान, मनमा खुसीको बहार ल्याइदिन्थ्यो ।
चार महिना वितिसकेछ । उसको मोबाइल अफ भएको । मेसेन्जर डिएक्टीभ, सम्पर्क गर्ने अन्य बैकल्पिक माध्यम थिएन । करिब-करिब चार महिनाको अन्तरालमा खिचापोखरीमा उसको साथी (आकृति) लाई भेट्ने अवसर मिल्यो । सोफीको बारेमा सोधें उसैसँग-
– हाई !
– हेल्लो !!
– चिन्यौ ? सोफी सँगै हाम्रो भेट भेन्चर्स क्याफेमा भएको थियो नि !
– उम…चिने सोफीले कुरा गर्थी हजुरको बारेमा ।
मेरो बारेमा पनि कुरा हुन्थ्यो ? उसँग कुराकानी नभएको पनि निकै नै समय भईसकेको कुरा साथीलाई बताए । पढ्नको लागि सोफी लण्डन पुगिसेकेको कुरा उसैबाट थाहा पाए । निकै नै दुःख लाग्यो सुन्दा मात्र पनि ।
तपाईलाई थाहा थिएन र ? उसले प्रश्न गरी ।
थाहा पाएको भए मैले तिमीसँग किन सोधिरहन्थे र ? तिमी सँग सम्पर्कमा छन् सोफि ?- मैले सोधे ।
अहँ गएदेखि नै छैन…। अब त नेपाललाई बिर्सीसकी तेस्ले- उस्ले हाँस्दै भनी ।
एकपटक भनेरै गएको भएपनि त मैले रोक्ने थिइन होला । किन भन्न पनि गाह्रो भएको होला भन्ने सोचें । लण्डन पुगेको खबर पाउना साथ १०४ डिग्रिको ज्वरो आएझै भयो मनमा । मनले भन्यो साला यो केटीजातलाई कुन कुराले प्रभाव पार्छ भन्ने थाहा नहुँदो रहेछ ।
०००
निकै बेर अन्य कुरा गर्दै बस्यौ साँझ करिब ५ बज्दै थियो, फेरि भेट्ने बाचासहित हामी छुटियौँ ।
गोरखापत्रको डिउटी सुरु हुँदै थियो । लागें उतै तिर । करिब १० बजे घर पुगें । मनमा विभिन्न कुराहरु खेल्दैछन् । विशेष गरी सोफीले थाहै नदिई लण्डनको यात्राको कुराले मनमा खिन्नता छाएको थियो । खान मन लागेनँ । विस्तारामा पल्टेझै गरें । निन्द्रा आउँला-आउँला भन्दै १२ बजिसकेछ । निन्द्रा लागेन । मोबाइलको स्क्रिन तल माथि गर्दै च्याटका पाना पल्टाउँन थालें ।
मनले पटक्कै नमानेपछि फेसबुकमा भएका पहिलो दिनदेखिका म्यासेज तथा भ्वाइस म्यासेज सुन्न पढ्न थालें । उस्को आवाज नै यति प्यारो थियो कि उस्लाई सुनिरहुँ जस्तो लाग्यो । दोहोराई तेहेराई सुनिरहे । सोचें- जिन्दगीमा कोहि आफूभन्दा प्यारो कोहि बनेको थियो भने उही सोफी नै त थिइ । ऊ नै मेरो खुशी मेरो हाँसो बनिसकेकी थिई । तर समयको गति सँगै प्यार भरिएको यो सम्बन्ध केवल सम्झनामा मात्र सिमित बनिसकेको थियो । किनकी ऊ थिई- सात समुद्र पारी अनि म वारी । भेट त अब कल्पनामा पनि सम्भव थिएन । मनलाई शान्त पार्न निकै कोशिस गरे । हामी जति पनि नजिक थियौं, केबल भावनात्मक रुपमा मात्र थियौं ।
०००
०००