Logo

प्रेस सङ्गठन नेपालद्वारा बजेटको स्वागत



Spread the love

१७ जेठ, काठमाडाैँ – प्रेस सङ्गठन नेपालले सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत आमसञ्चार क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रम घोषणा गरेको भन्दै त्यसको स्वागत गरेको छ ।

सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले हिजो एक विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रको समग्र विकासका लागि लिइएको पहलकदमीका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई धन्यवाद व्यक्त गरेको छ ।

बजेटमा उल्लेख भएको आमसञ्चार ऐन तर्जुमा गर्ने घोषणा र लोक कल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्नु आम सञ्चार क्षेत्रका लागि महत्वपूर्ण काम भएको विज्ञप्तिमा भनिएको छ ।

नेपाली पत्रकारितामा गुणस्तरीयता, व्यावसायिकता र स्वच्छ अभ्यासलाई प्रोत्साहित गर्ने गरी कानून निर्माणदेखि पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्नेतर्फ बजेटले स्पष्ट मार्ग निर्देश गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लोक कल्याणकारी विज्ञापन बापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशत वृद्धिले श्रमजीवी पत्रकार आफैले सञ्चालन गरिरहेको स्वरोजगारमूलक मिडियालाई ठूलो राहत पुग्नुका साथै पत्रकार दुर्घटना बीमा र वृत्ति कोषले आम पत्रकारको मनोबल माथि उठाएको उल्लेख छ ।

बजेटमा रेडियो नेपाल र नेपाल टेलिभिजनको एकिकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने योजना अघि सारिनु आम सञ्चार क्षेत्रका लागि महत्वपूर्ण काम भएको बताइएको छ । ‘फ्रिक्वेन्सी’ वितरण प्रणाली व्यवस्थित र पारदर्शी बनाउन राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण योजना र रणनीति तयार गर्ने, सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ‘ब्रोडव्याण्ड इन्टरनेट’ विस्तार गर्ने काम आगामी वर्षभित्र सम्पन्न गर्ने घोषणा स्वागत योग्य भएको बताइएको छ ।

सङ्गठनले सीमित स्रोत साधन भए पनि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्ने दिशामा बजेटलाई केन्द्रित गरेको भन्दै सरकारको यस कदममा तथ्यका आधारमा सत्य स्थापित गर्ने स्वस्थ आलोचनासहित सहयोगी बन्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्