१६ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गैरकानूनी सम्पत्ति आर्जन गरी उनले आफू र आफ्नी श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च र विभिन्न बैंकमा बचत गरेको रकम ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ देखिएको थियो ।
अर्यालको वैध आयको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरेको र अख्तियारले अर्याल र उनकी पत्नीलाई प्रतिवादी कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।