१६ जेठ, वासिङ्टन। उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्ने छन् ।
उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न उनी शुक्रबार सिंगापुर जान लागेका छन् । उनले यही शुक्रबारदेखि आइतबारसम्म सो भेटघाट गर्ने समाचारमा जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार सो जानकारी गराएको हो । सो प्रयोजनका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगन सिंगापुर जाने जानकारी गराइएको छ ।
उनले सिंगापुरमा दुई दिनसम्म सो भेटवार्ता गर्ने पनि अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
स्टेफनले दक्षिण कोरियाका राजदूत लिडुहोनसँग भेट गर्नुहुने छ । त्यसैगरी जापानी विदेश मन्त्रालयको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका महानिर्देशक केन्जी कान्साउगीसँग भेटवार्ता गर्ने छन् ।
ती भेटहरुमा उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी विषयमा कुराकानी गर्ने बताएको छ । उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धमा गएको केही समययतादेखि उत्तर कोरियाली अधिकारीहरुसँग विभिन्न पक्षले वार्ता गरिरहेका छन् ।
उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच दुई पटक सम्म शिखर वार्ता भएको छ । पहिलो पटक सिंगापुरमा र पछिल्लो पटक गत फेब्रुअरी महिनाको २७ र २८ तारिखमा भियतनामको हनोइमा वार्ता भएको थियो ।
ती वार्ताहरुमा निशस्त्रीकरणको प्रतिबद्धता व्यक्त गरेको भनिएको उत्तर कोरियाले त्यसका लागि पहल जारी नै राखेको बताएको छ ।
तर अमेरिकाले भने ती वार्ताहरुमा भनिएजस्तो उत्तर कोरियाले प्रतिबद्धता अनुरुप निशस्त्रीकरणको कार्य गर्न नसकेको बताएको छ ।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हनोईमा भेटवार्ता भएको थियो ।
बुधबार अमेरिकी विदेश मन्त्रालयमा भएको एक प्रेस भेटघाटका क्रममा उक्त मन्त्रालयका प्रवक्ता मोर्गन अर्टागस्ले अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको सम्बन्धलाई राम्रो बनाइराख्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।
उता उत्तर कोरियाले भने आफूले यसअघिका शिखर वार्ताहरुमा व्यक्त गरेका प्रतिबद्धताबमोजिम निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको तर पनि यस विषयमा अमेरिका गम्भीर नरहेको प्रतिक्रिया दिने गरेको छ । (रासस)