Logo

दार्चुलामा अज्ञात व्यक्तिद्वारा वृद्ध दम्पतीको हत्या



Spread the love

१२ जेठ, दार्चुला ।
महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।

हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनको नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् ।

द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । वीरभानको भने जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ । टाउकोबाट अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो ।

‘‘सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिन्छ’’, महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महराले भने । सुनका गहना र पैसाको लागि हत्या गरेको हुनसक्ने उनले बताएका छन् ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान मात्रै गाउँलेले चाल पाएका थिए । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक कठायतका अनुसार सानोतिनो प्रलोभनमा परेर हत्या गरेको हुन सक्छ । द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिईन ।

द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको वडाध्यक्ष महराले बताए । घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घट्ना भएको थियो । अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा बताएको छ ।

‘‘मान्छे को हो भनेर चिन्न सकेको छैन । मुख पूरै बाँधेको थियो । झोला बोकेर आएको थियो’’, बयानमा उनले भने । निरन्तर बाजे, बज्यै कुट्न थालेपछि लडेपछि आफ्नो समेत टाउकोमा हान्यो । आफू खोला किनारतर्फ भागेकाले बाँच्न सफल भएको उनको भनाई छ ।

बिहान बृद्धका नातिनी पूजा पसलमा आउँदा बज्यैको मृत्यु भएको तथा बाजे र भाइ घाइते अवस्थामा देखेपछि गाउँलेलाई खबर भएको थियो । ‘‘पसलमा पुग्दा रगताम्य देखियो । त्यसपछि प्रहरीलाई खबर गरेर बाजे र भाइ उपचारको लागि अस्पताल लगिएको ल्याइएको हो’’ पूजाले सुनाएकी छिन् ।

‘‘अस्पतालमा ल्याउँदा बृद्ध वीरभानको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचार गराएर बाहिर पठाउन सकिने अवस्था थिएन’’, जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले भने , ‘‘अनेक कोशिस गर्दा पनि उनलाई लाई बचाउन सकिएन तर नातिको भने कानमा चोट लागेको भएपनि उपचार हुँदैछ ।’’ लोकेन्द्र हुस्कर मावि काटैमा कक्षा ५ मा अध्ययनरत छन् ।

घट्नाको थप अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिएको छ । पूरै परिवारको हत्या गर्ने गरी भएको घटनाले जिल्लामा त्रास बढेको छ । पछिल्लो समय जिल्लामा चोरीका घटनाहरु पनि बढ्दै गएका छन् । बढ्दो चोरी र हत्याको घटनाले सुरक्षा अवस्था कमजोर रहेको स्थानीयवासी बताउँछन् । (रासस)

प्रतिक्रिया दिनुहोस्