१२ जेठ, काठमाडौँ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ गते देखि सर्वसाधारणका लागि खुला हुँदैछ ।
नेपाल सरकारको रु ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्रहालय सजाउने जिम्मेवारी वैशाख ८ गते नेपाल कला परिषद्ले पाएको थियो ।
सङ्ग्रहालय संरचना निर्माणका लागि ३५ रोपनी जग्गा रहेको छ । यस सङ्ग्रहालयमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ भने यहाँ एकैपटक दुई हजारजना अटाउनसक्ने सभा हलसमेत निर्माण गरिएको छ ।
उक्त सङ्ग्रहालयमा जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अङ्गभङ्ग भएका र मृत्यु भएकालाई झल्काउने स्मारकसमेत निर्माण भइसकेको छ । र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइनेछ ।
साथै सङ्ग्रहालयले गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्नसक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताए ।