१२ जेठ, बागलुङ – जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताए ।
अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भीमसेन, बालविकास, प्रजातन्त्र, श्रीरामलगायतका १२ आधारभूत विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री पाएका हुन् ।
जापानमा क्रियाशील संस्था बिहुँकोट समाज जापानले स्थापना गरेको परोपकार अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । समाजले गाउँमा सेवामूलक कार्य गर्नका लागि केही वर्षअघि रु एक करोडको अक्षयकोष स्थापना गरेको थियो ।
धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रको उत्थानमा अक्षयकोषको रकम खर्च हुँदै आएको छ । अक्षकोषबाट दुःख, विपत्का बेला राहत सहयोगसमेत प्रदान गर्ने गरिएको छ । “गाउँको शैक्षिक, सामाजिक विकासमा जापानमा बस्ने बिहुँकोटवासीको महत्वपूर्ण योगदान छ”, अध्यक्ष सुवेदीले भने ।
शैक्षिक सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर थापाले प्रवासी नेपालीको सामाजिक उत्तरदायित्व र सेवाभावको प्रशंसा गरे । बिहुँकोट समाज जापानले गर्ने सहयोग आदानप्रदान र समन्वयका लागि जापान समाज बिहुँकोट क्रियाशील रहँदै आएको छ ।