६ जेठ, कञ्चनपुर – जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय प्रकाश भट्टको आज उपचारको क्रममा भारतको बरेलीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
दशरथचन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना हुँदा दशरथचन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हिराबल्ल भट्ट, उनका सहोदर भाइ ५३ वर्षीय लालमणी भट्ट र लालमणिकी श्रीमती ५० वर्षीय नारुली भट्टको घटनास्थमै मृत्यु भएको थियो ।
जीप चालक नवीन भट्ट र कञ्चनपुरको भीमदत्तनगरका राहुल भट्ट घाइते भएका छन् । नवीनको भारतको पिथौरागढमा तथा राहुलको कञ्चनपुरमा उपचार भइरहेको छ । उनीहरु देवताल मन्दिर दर्शन गर्न जाँदा दुर्घटनामा परेका हुन् ।