५ जेठ, स्याङ्जा – स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) र ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट युवा साहित्यकार अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले बताए ।
विराटनगरमा रहेर नेपाली भाषा साहित्यको विशेषगरी समालोचना विधामा कलम चलाउँदै आएका प्राज्ञ सुवेदीलाई स्याङ्जा साहित्य प्रतिष्ठानले विसं २०५३ मा स्थापना गरेको ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट पुरस्कृत गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि रु १५ हजार ५०० रहेको छ ।
नेपालगञ्जमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा खेल्नुभएको योगदानको मूल्याङ्कन गर्दै ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) लाई पुरस्कृत गरिएको हो ।
नेपाली भाषा साहित्यका कविता, काव्य तथा गजल विधामा कलम चलाउने स्याङ्जाको वालिङका युवा साहित्यकार अग्निकुमार पल्लवलाई ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको छ ।