३१ वैशाख, कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल संरक्षण गरिने भएको छ । नगरपालिकाले तालको पानी सुकेको भागलाई पोखरीमा परिणत गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भएको छ ।
रु १६ लाखको लागतमा झण्डै तालको सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना अघि सारिएको नगरप्रमुख पोतिलाल चौधरीले बताए । “तालको पुरिँदै गएको भागमा पोखरी निर्माण गर्दा ताललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ”, उनले भने, “पोखरीमा माछापालन गर्दा स्थानीय बासिन्दाको आयस्रोतमा समेत वृद्धि हुन्छ ।” आगन्तुक र रैथाने जलपक्षीका लागि पुरैनी ताल प्रख्यात रहेको छ । ताल पहिला ३२ बिघा क्षेत्रफलमा फैलिएको थियो ।
स्थानीय बासिन्दाले तालको वरिपरिको क्षेत्र अतिक्रमण गरी खेती गर्न थालेपछि २८ बिघा क्षेत्रफलमा खुम्चिएको स्थानीयवासी रामबहादुर चौधरीले बताए । तालको अतिक्रमण हटाउन नगरपालिकाले जग्गाको नक्साङ्कन गर्ने जनाएको छ । स्थानीय बासिन्दासमेत ताल संरक्षणका लागि काम अगाडि बढाइने भएपछि तालको अतिक्रमण गरेको जग्गा फिर्ता गर्न सहमत देखिएका छन् ।
ताल संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले काम अगाडि बढाउँदै आएको छ । तालमा रहेका जलपक्षीलाई संरक्षण गर्न र तालको जैविक विविधता बचाइराख्न सहकारी संस्थाले स्थानीय बासिन्दालाई सचेत पार्दै आएको छ । तराई क्षेत्रका अधिकांश ताल वैशाख, जेठमा सुक्ने गरे पनि यस तालमा बाह्रै महीना एकनासको पानी रहने गरेको छ । ताल कमलका फूलका लागि समेत प्रख्यात छ । स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसै आधारमा तालको नाम पुरैनी राखिएको बताइएको छ ।