३० बैशाख, काभ्रे – एसइई परीक्षा दिएर बसेका विद्यार्थीबीच खुला म्याराथुन प्रतियोगिता हुने भएको छ ।
बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले देशभरका फुर्सदिला विद्यार्थीका लागि खुला म्याराथुन प्रतियोगिताको तयारी गरेको हो ।
‘किल एडिक्सन, स्टे हेल्थी’को नारासहित आयोजना गर्न लागिएको सो प्रतियोगिता आगामी जेठ ३२ गतेदेखि बनेपामा सञ्चालन हुने प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले जानकारी दिए । उनले भने, “एसइई परीक्षा पछिको समयमा विद्यार्थीमा नैराश्यता तथा दुर्व्यसनको अत्याधिक जोखिम हुने भएकाले प्रतिष्ठानले ज्ञानकुञ्ज म्याराथुनको आयोजना गरेको हो ।”
फुर्सदमा बसेका विद्यार्थीमा थप प्रतिस्पर्धाको भावना जगाउन र कूलतमा नफसुन भन्ने उद्देश्यले म्याराथुन प्रतियोगिता आयोजना गरिएको वैद्यले बताए । छात्र र छात्राबीच प्रतिस्पर्धा हुनेछ । प्रथमलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको छात्रतर्फ ६ किलोमिटर तथा छात्रातर्फ तीन किलोमिटरको दौड हुने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धामा सहभागी हुन विद्यार्थीले एसइई परीक्षामा सामेल भएको प्रमाण पेश गर्नुपर्नेछ ।