३० बैशाख, काठमाडाैँ – रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत हिजो रथलाई सुन्धाराबाट टङ्गाल लगिएको छ । रातो मच्छिन्द्रनाथलाई रथयात्राका क्रममा विभिन्न स्थानको परिक्रमा गराउने क्रममा शनिबार सुन्धारा लगिएको थियो ।
हिजै सुन्धाराको मुख्य जात्रा सकिएपछि साँझ रथलाई त्यहाँबाट हिडाइएको हो । टङ्गाल आसपास राखेपछि सोमबार लगनखेल लगिने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए । गत बुधबारदेखि नै मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको थियो । पहिलो दिन पुल्चोकबाट रथयात्रा शुरु गरेर गाबहाल लगिएको थियो । त्यसपछि विभिन्न स्थानमा हुँदै लगनखेल लगिन्छ ।
लगनखेलमा रहँदा विभिन्न खालका पर्व हुने पौडेलले बताए । उनले भने, “रथयात्रा सकिएर अर्काे चरणमा साइत हेरेर मात्रै मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने गरिन्छ ।” उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रालाई मानिन्छ । रातो मच्छिन्द्रनाथ पाटन र बुङ्मती दुवैतर्फ ६÷६ महीना रहने ज्योतिष दैवज्ञ किर्तिमदन जोशीले बताए । उनका अनुसार मच्छिन्द्रनाथ पाटन आएसँगै विभिन्न पर्वहरु हुने गर्छन् । मच्छिन्द्रनाथको महास्नान गरेपछि नै जात्राको रौनक बढ्ने गर्छ ।
महास्नानपछि एकातिर मच्छिन्द्रनाथको दश कर्म हुन्छ भने अर्कातिर रथ निर्माण शुरु हुन्छ । मच्छिन्द्रनाथको जात्रा शुरुदेखि सम्पन्न गर्नका लागि पाटनका विभिन्न समुदायको सहभागिता रहन्छ । यहाँको सबै समुदायले तोकिएको काम गर्ने उनले बताए । उनले भने, “जावलाखेलमा भोटो देखाएर बुङ्मती फर्काउँदासम्म नै फरकफरक समुदायका लागि फरक जिम्मेवारी तोकिएको छ ।” रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवता मानिन्छ । मच्छिन्द्रनाथको जात्रा देखाएपछि नै अनिकाल हटेर गएको मानिन्छ । पाटनवासी जात्रा मनाउँदा वर्षा हुने विश्वास गर्छन् ।