लेखक हुनु, असफल हुनु पनि हो । अथवा अपुगता, अपूर्णता पनि भनौँ । लेख्नु भनेकै असफलता लेख्नु पनि हो । आफूले रहर गरेका, हुन खोजेका, अभावको, आवश्यकताको सूचीमा रहेका तमाम कुरालाई लेख्य विषय बनाउनु लेखकको धर्म हो । कर्म हो । लेख्नु भनेकै केही कुराको खोजी गर्नु हो । मनमा जिज्ञासाको भोक र सिक्ने चाहनाको पहाड नभई कोही पनि लेखक हुन सक्दैन । केही बन्न नसकेका कुरा बन्नु, केही भन्न नसकेका कुरा भन्नु, केही हुन नसकेका कुरामा हुनु, केही चुन्न नसकेका कुरा लेखनमा चुन्नु, केहीमा कल्पीनु, केहीमा बल्झिनु, केहीमा अल्झीनु, केहीमा तर्किनु लेखकका काम हुन् ।
अक्षरहरुको सहारामा लेखकले अक्षरलाई पानी बनाउँछ र पाठकका सुकेका आँत भिजाउँछ । आँशु बनाउँछ र परेला भिजाउँछ । अक्षरहरुको सहारामा लेखकले अक्षरलाई नै आँधिहुरी बनाउँछ र पाठकका मन मस्तिष्कलाई बेस्सरी हल्लाउँछ । लेखकले अक्षरलाई इट्टा बनाउँछ र दरबार ठड्याइदिन्छ । अक्षरलाई ढुंगा बनाउँछ र पर्खाल लगाइदिन्छ । अक्षरलाई नै बम, गोला, बारुद बनाई दुस्मनलाई नै तर्साइदिन्छ । लेखकले फेरी त्यै अक्षरलाई गुलाफको फूल बनाएर प्रेमिकालाई रिझाउँछ । भनिन्छ लेखकले एकै जुनीमा सय जुनी जिउँछ ।
२०७५ साल असार १२ गते म ढोरचौर रहेछु । त्यसै दिन मैले तीनवटा कविता जस्ता कविता कोरेछु । मैले कविता जस्ता कविता भनेँ, किनभने यी पूर्ण कविता हुन् जस्तो लाग्दैन । लेख्नकै लागि लेखेका छटपटी जस्ता मात्र छन् ।
आज यो आलेख यसरी किन लेख्न मन लाग्यो भने— हाम्रा दिनहरु कसरी बित्दा रहेछन् ? के हामी तथ्य र प्रमाणका आधारमा विगत सम्झन्छौँ ? आउने दिन भन्दा बितिगएका दिनहरु नै बढी मज्जा लाग्ने हुन्छन् । कमसेकम मेरा लागि । वर्तमानमा चिया पिउँदै, खाजा खाँदै वा साथीभाईहरुसँग गफ लडाउँदै विगत सम्झिँदा जस्तै दुःख भएपनि दुःखी भईदैन । बरु त्यै दुःखमा हाँसिन्छ । जस्तै संकटलाई पनि सजिलो आँखाले हेरिन्छ । सायद लेखनमा आगतभन्दा बढी विगत हुन्छ जो कसैको पनि ।
यो आलेख तयार गर्नुको दोस्रो कारण आज म त्यै असार १२ गतेको दिनलाई कसैगरी पनि स्मरण गर्न चाहन्छु । मैले त्यो दिन यी कविता लेख्नु बाहेक अरु के के गरे हुँला ? यी फरकफरक तीन शिर्षकमा कविता लेख्न मलाई कस्तो मनोदशाले प्रेरित गर्यो होला ? त्यो दिन मैले कुन कुन किताव पढेँ हुँला ? कुन कुन गीत गुन्गुनाए हुँला ? कुन गीतमा थाकुन्जेल नाचेँ हुँला ? के खाएँ हुँला ? कस्तो लगाएको थिए हुँला ? कति कति जना सँग भेट भयो होला ? फेसबुकमा के के लेखेँ हुँला ? कति लाईक, कमेन्ट गरे हुँला ? कतिजनासँग फोनमा कुरा गरे हुँला ? च्याटमा को-को सँग कुरा भयो होला ? हो, यो आलेख मार्फत त्यो दिन र तिनै क्षणहरुलाई सम्झिने कोसिस गरिरहेको छु ।
त्यो असार १२ मा ठुलो बर्खे झरी पनि परेको हुन सक्छ । आकाशमा बिजुली चम्केको पनि हुन सक्छ । कतै चट्याङ परेको हुन सक्छ । वा शारदा नदीमा बाढी आएको पनि हुन सक्छ । त्यसै दिन कतै न कतै पहिरो गएको हुन सक्छ । कसैलाई बाढीले बगाएको हुन सक्छ । कुनै न कुनै ठाउँमा कुनै सुन्दर युवतीले पानीमा रुझ्दैरुझ्दै घाँस काटेको पनि हुँन सक्छिन् । कुनै भावुक प्रेमीले पानीमा रुझ्दै-रुझ्दै प्रेमिकालाई भेट्न गएको पनि हुन सक्छ ।
लेख्नु भनेको त, वितेको दिन सम्झिनु पनि रैछ ।
लेख्नु भनेको त , विगत जस्ताको तस्तै देख्नु पनि रैछ ।
अब एकैछिन मेरो असार १२ को दिनमा लेखेको ‘अक्षर’ कवितालाई एकसाथ पढौँ है त ।
अक्षर
क, ख लेख्ने हातहरुले,
अब लेख्नुपर्नेछ कपुरी ‘क’ को कविता ।
खरायो ‘ख’ को कथा ।
अब सपनाको महल ठड्याउनुछ,
अक्षरहरुको बलिया इट्टाले ।
अब भविष्यको सम्भावना र वर्तमानको रोजगारी रोज्नुपर्नेछ,
यिनै अक्षरहरुको गोडमेल र सरसंगतले ।
अक्षरहरुमै पोखिनेछ खुसी
अक्षरहरुमै पोखिनेछ पिडा
अक्षरहरुमै पोखिनेछ गुनासा
केही कविताका कोशेलीहरु छन्
केही कथाका झुपडीहरु छन्
केही निबन्धका छालहरु छन्
केही उपन्यासका बन्डलहरु छन्
अक्षरहरुले नै कुद्ने छ मेरो भाग्यरेखा
अक्षरहरुले नै फिँजाउनेछन् मेरो प्रयत्नगाथा
बुवाको जीवनी लेख्नुछ
आमाको कथनी लेख्नुछ
देशको नक्सामा उभिएर,
सारा नेपालीका नारा, माग, विद्रोह अनि विरोध लेख्नुछ ।
जीवन सँगिनीलाई खुसी पार्न मिठो गजल लेख्नुछ
देशभक्तिको नाममा एउटा कविता लेख्नुछ
असफल क्रान्तीको कथा लेख्नुछ
घाइते योद्दाको मार्मिक सन्देश लेख्नुछ
अयोग्य कमरेडहरुका कथाव्यथा कोर्नुछ ।
लेख्नु छ, सरकारका नाममा प्रजाहरुका याचना
लेख्नु छ, सत्ताको नाममा जनताका आक्रोशहरु
सिँगै जीवनको उपन्यास लेख्नुछ
बाटा अबाटामा देखेको सपना लेख्नुछ ।
केही कुरा छन् मनभित्रै दबेका
केही घाउहरु छन् हृदयमै छिपेका
केही असन्तुष्टी छन् ईश्वरसँग
केही गुनासा छन् दुनियासँग
हाँस्ने उमेरमा रोएका रुवाइयातहरु छन्
स्वप्निल संसारमा धोका खाएका मुक्तकहरु पनि छन्
हिड्दाहिड्दै ठेस लागेको छ
बोल्दाबाल्दै बोली अड्केको छ
हेर्दाहेर्दै आँखा आँशुले भरिएका छन्
ओठमा तालाचाँबी लागेको पल छ
हातमा हत्कडी भिडेको याद छ
उड्नुछ, अक्षरको आकाशमा
हिड्नुछ, अक्षरले खिपेको बाटोमा
जिउनुछ, अक्षरको परिधिमा घुमेर
लेख्नुछ, लेखिरहनु छ, सबै सबै ।
हेरौँ कति सकिन्छ !!
‘अक्षर’ शिर्षकमा कविता लेखिसकेपछि, सायद मैले कफि बनाएर खाएँ हुँला । त्यसपछि बाथरुम पनि गए हुँला । अनि आएर फेरि केही पढेँ । पढ्दा पढ्दै फेरि अर्को कविता लेखेँ, ‘आजभोलीका दिनहरु’ । फेरि मेरो कविता जस्तो यो कविता पनि पढौँ है त ।
आजभोलीका दिनहरु
केही गर्नैपर्ने कामहरु बाँकी छन्
केही महत्वपूर्ण भेटघाट छन्
कसैको सापटी तिर्नु, कसैबाट फिर्ता लिनु
घरमा गएर बुवाआमालाई भेट्नुपर्ने
हिजोका साथी संगतीका कुराहरु सुन्नुपर्ने
कुनै सुखमा ÷ भोजमा सहभागी हुनुपर्ने
कुनै दुःखमा ÷ शोकमा उपस्थिती भैदिनुपर्ने
दाइदिदीहरुका गुनासा छन्
भाइबहिनीहरुका आशा छन्
अग्रजहरुका अपेक्षा छन्
अनुजहरुका आग्रह छन्
आफ्ना विचार ÷ आस्था र कर्मलाई निरन्तरता दिनुछ
सामाजिक दायित्व, मान्छे हुनुको धर्म निर्वाह गर्नुछ
जीवनका केही खास कुरा पुरा गर्नुछ
आवश्यकताका चिजवस्तुमा ध्यान दिनुछ
सबैभन्दा ठूलो कुरा वर्तमानमा जिउँनु छ
सबैभन्दा ठूलो कुरा समयमा चल्नु छ
सपना देख्दादेख्दै उठ्नु
आँखा मिच्नु र आङ तन्काउनु
कोठाबाट—बाथरुम
बाथरुमबाट —कोठामा
आवत जावत गर्नु
पटक—पटक पढेका बासी पत्रिका पढ्नु
हिन्दीमा डबिङ गरेका हलिउडका फिल्म हेर्नु
मनका गनथनहरु सेतोपानामा उतार्नु
दिनभरी जसो अनलाइन, यूट्युब र फेसबुक हेर्नु ।
केही नयाँ किताबहरु पढ्नु
केही पढिसकेका कथा दोह्र्याउनु
स्कृनसट गरी राखेका लेखहरु पढ्नु
डाउनलोड गरी राखेका टक शो हेर्नु
देशी ÷विदेशी लेखकलाई भिडियोमा हेर्नु
केही मनपर्ने नेताहरुको भाषण सुन्नु
साथीभाइहरुका स्टाटस, फोटाहरुमा लाईक÷कमेन्ट गर्नु
केही समय त्यसै सोचेर बस्नु ।
कहिले ÷कतिबेला कविता कोर्छु,
सायद छटपटी पोख्छु ।
जस्तै कि— सहदैछु यो छटपटी
सहदैछु यो अस्तव्यस्तता
सहदैछु बेकारीका यी दिनहरु
व्यर्थहीन ÷अर्थहीन प्रयासहरु
तर…तर…
बाँकी छन् अझै मेरा प्रयत्नहरु
बाँकी छन् अधुरा कोशीसहरु
बाँकी छन् अझै अपूरा सपनाहरु
हो—बाँकी छन् मेरा संभावनाहरु
बाँकी छन् आशाहरु
सिङ्गै छ, जीवन ।
सिङ्गै छ, समय ।
भूल्नु छ त्यो पीर । भूल्नु छ त्यो विगत ।
भूल्नै पर्छ त्यो खोक्रो आदर्शलाई
त्याग्नै पर्छ भूई छोडेको त्यो विचार÷सिद्धान्तलाई
छोड्नुपर्छ त्यो आधारबिनाको प्रयत्नलाई
बाई—बाई भन्नैपर्छ त्यो बालुवाको घरलाई ।
छोड्नु हुन्न हिड्न । छोड्नु हुन्न पाइला चाल्न ।
छोड्नु हुन्न मुस्कुराउन । छोड्नु हुन्न बुद्धि खियाउन ।
छोड्नु हुन्न जोखिम मोल्न । छोड्नु हुन्न खेल खेल्न ।
उदाईरहेका सूर्यले,
बगिरहेको खोलाले,
एकदिन गन्तव्य भेटाइ छोड्छ ।
बत्तिएको बतासले,
उडिरहेको बादलले,
बर्सिएको झरीले,
आफ्नो धर्म निभाइ छोड्छ ।
यस्तै—यस्तै कोलाज कोर्दै,
आक्कल—झुक्कल टिप्पणी टिप्दै,
केही सोच्दै,
केही आफै भित्र खोज्दै,
केही प्रश्न गर्दै,
केही जवाफ दिँदै,
केही जिज्ञासा राख्दै,
केही चिन्ता लिदैँ,
बितिरहेका छन्, आजभोलीको दिनहरु ।
सोच्छु, यी दिनहरुले सम्झेलान् कि बिर्सेलान् मलाई ?
सोच्छु, अब कस्ता दिनहरु पर्खदैछु मैले ?
यो कविता लेखिसकेपछि फेरि मैले केही न केही गरेँ । र फेरि एकछिन पछि मैले ‘उपन्यास’ शिर्षकमा कविता लेखेँ । त्यो कविता र बाँकी गतिबिधि अर्को कुनै बेला भनौँला । बरु अहिलेलाई तपाई पनि आफ्नो बितेको कुनै एकदिन सम्झनुहोस् न । कतै डायरीमा केही लेखिएको छ कि, पाना पल्टाउनुहोस या विगतका केही कुरा, केही प्रसंग सम्झेर फिस्स हाँस्नुहोस् । नभए, मेरो यो ख्यास-ख्यास पढेर ओठ लेब्र्याउनु होस् । र धारेहात लगाउँदै खुच्चिङ भन्नुहोस् ।
अब हामी अर्को भेटमा गफिने छौँ ।
बाई बाई ।
०००
०००