२७ बैशाख, काठमाडाैँ – सङ्घीय भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखि नै शुरु भएको बताएकी छन् ।
मन्थलीमा हिजो नवनिर्मित नापी कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री अर्यालले २०४८ सालदेखि अतिक्रमण शुरु भएको उक्त जग्गाको अहिलेको सरकारले अतिक्रमणमा संलग्न व्यक्तिको खोजी गरेर कारवाही गर्न खोज्दा उल्टै भूूमाफियालाई सरकारले नै जोगाउन थाल्यो भनेर गलत प्रचारबाजी गरिएको बताइन् । नापी कार्यालयमा सेवा लिन आउने नागरिकलाई छिटो, छरितो र नागरिक मैत्री बनाउनु सरकारका लागि चुनौती रहे पनि सो चुनौतीलाई तोड्न आफ्नो मन्त्रालय र सिङ्गो सरकार नै लागेको बताइन् ।
देशभरीका नापी कार्यालयमा अझै पनि बिचौलियाका कारण सेवाग्राहीको चाहनाअनुसारको काम हुन नसकेको मन्त्री अर्यालको भनाइ थियो । “अब छिट्टै आधुनिक प्रविधिबाट जनतालाई सेवा दिने गरी काम गर्न सरकार लागि परेको छ”, उनले भनिन् । देशभरी नापी नक्सामा समस्या रहेकाले सबै ठाउँमा पुनः नापी गरी डिजिटल प्रणालीमा लैजान भूउपयोग नीति पास गर्ने तयारी भइरहेको मन्त्री अर्यालले बताइन् ।
प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले भूमिको नाप नक्सा आधुनिक प्रणालीबाट हुन सके नागरिकले सुविधा पाउने बताइन् । कर्मचारी अभावका कारण जिल्लाका अधिकांश कार्यालयबाट प्रभावकारी ढङ्गबाट काम गर्न कठिनाई भइरहेको उनको भनाइ थियो ।