२६ वैशाख, घोराही – प्रदेश नं ५ अन्तर्गत भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभागले जिल्लाका १० वटै स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण गरेको छ । विभागले बुधबार घोराहीमा एक कायक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको हो ।
विभागबाट सरकारले पछिल्लो समय निर्माण गरेको भू–उपयोग नीति, स्थानीय तहका नक्सा, तथ्याङ्क तथा प्रतिवेदन प्रत्येक स्थानीय निकायलाई छुट्टाछुट्टै वितरण भएको थियो । विभागले जिल्लाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पालिकाका प्रतिनिधिलाई सहभागी गराएर आफ्नो क्षेत्रभित्र के–कसरी भू–उपयोग नीति लागू गर्ने भन्नेबारेमा जानकारीसमेत गराएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ५ नापी विभाग अधिकृत प्रतिमा बस्नेतले सरकारले तयार पारेको तथ्याङ्कमा प्रत्येक स्थानीय तहको कृषि, पर्यटन, औद्योगिक, सार्वजनिक जग्गा छुट्याइएको, कृषि भूमिको चक्लाबन्दी गर्ने, भूमिलाई वातावरणमैत्री तरिकाले उपयोग गर्ने विधिसमेत भएको बताए ।
नापी विभागबाट प्राप्त उक्त तथ्याङ्कमा स्थानीय निकायले आफ्नो क्षेत्रको विकासे काम गर्नका लागि समेत सहज हुने उनको भनाइ थियो । कार्यक्रममा प्रदेश नं ५ का प्रदेससभा सदस्य अमरबहादुर डाँगीले पछिल्लो समय कृषि योग्य जमीन नासिँदै गएकोप्रति चिन्ता व्यक्त गरे । सबै स्थानीय निकायका प्रतिनिधिलाई आफ्नो क्षेत्रभित्रको कृषि जमीनलाई सुरक्षित बनाउन पहल गर्नसमेत अनुरोध गरे ।