१८ वैशाख, काठमाडौं ।
बार्सिलोनाका फरवार्ड फिलिप्पे काउटिन्होले लिभरपुलमा उनीहरुको मुख्य खेलाडी मात्र नभई पुरा टोलीनै बलियो भएकोले पुरै सचेत रहेर खेल्नु पर्ने बताएका छन् ।
च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो खेलका लागि बुधबार लिभरपुल बार्सिलोनाको क्याम्प नोउ पुग्दैछ । लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यसहित लिभरपुल बार्सिलोनाविरुद्ध मैदानमा उत्रदैछ । लियोनल मेसीलाई रोक्नु लिभरपुलका लागि पनि मुख्य चुनौति हुनेछ । मेसी यो सिजन निकै फर्ममा रहेका छन् ।
कोउटिन्होले पूर्व क्लब स्तरिय र मानसिक रुपमा निकै मजबुत रहेको बताएका छन् । ‘लिभरपुल साच्चै उत्कृष्ट टोली हो । मानसिक रुपमा पनि निकै बलियो छ,’ उनले भने, ‘मैले पुरा सिजन उनीहरुको खेल हेरेको छु । फरवार्ड र डिफेन्समा पनि उनीहरु सशक्त छन् । हामीले उनीहरुसँग सचेत भएर खेल्नु पर्दछ ।’
लिभरपुलको तारिफमा काउटिन्हो त्यतिमा रोकिएनन् । ‘टोलीमा तीन फरवार्ड मात्र होइन, डिफेन्स र मिडफिल्डमा पनि त्यत्तिकै स्तरिय खेलाडी छन् । उनीहरुका गोलका लागि निकै मेहेनत गर्छन,’ उनले थपे, ‘हामी पुरा टोलीसँग सचेत भएर खेल्नु पर्दछ र हामीले पछिल्लो समय जस्तो प्रदर्शन गर्दै आएका छौं त्यसलाई निरन्तरता दिनुपर्दछ । ‘
उपाधि खडेरीलाई तोड्नका लागि लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको प्रयास पक्कै गर्नेछ ।