Logo

अपहरित बालक प्रहरीद्वारा उद्धार



Spread the love

१८ बैशाख, सप्तरी– बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ ।

गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ । महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको बिहेमा जन्ती गएका उनका भाञ्जा लक्ष्मणको बिहे घरबाटै अपहरण भएपछि भोलेन्द्रले जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका थिए ।

बालकको सम्बन्धमा अनुसन्धान तथा खोज तलाश गर्दा बालक हराई बेपत्ता नभई अपहरण भएको पत्ता लागेपछि प्रहरी टोली परिचालित गरी भारत बिहारबाट उद्वार गरी ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रहरीका अनुसार बालकको उद्धारका लागि प्रहरी उपरीक्षक विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएका थिए । अपहरणकारीलाई घेराउ गरेपछि सिबहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको प्रहरी उपरीक्षक विष्टले बताए । बालकलाई उद्धार गर्नुअघि सप्तरी प्रहरीले नेपालका तीनलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्