सुदर्शन शर्मा
पहिलो कविता
शब्द यात्रा
थाहा छैन कुन दिन ?
यी जिउँदा हरफहरु सकिन्छन्
अनि हिड्नु पर्छ एक्लै
मृत्युतर्फको
यो
सुनसान यात्रा
शब्द बाँचुञ्जेल त
के फिक्री गर्नु ?
दोस्रो कविता
भेट र प्रेम
चट्याङ्ग जस्तो भेट
भुसको आगो जस्तो प्रेम
समयको एउटा उचाईमा
हाम्रो भेट हुँदा
धर्ती हिँडिरहेथ्यो या घुमिरहेथ्यो
हामी हिँडिरहेथ्यौँ या घुमिरहेथ्यौँ
तर नजरहरु हाम्रा, टक्क अडिएका थिए
दुबै जोडा आँखाहरु
गहिराईमा डुबेको पल
तिमीले के भट्टायौ कुन्नि ?
मेरा आँखाले यस्तो मोती टिपेर फर्केछन्
‘तिम्रै आँखाको याद
अनि
अनन्त प्यार’
जिन्दगीको नदी तिम्रो र मेरो
अविरल बगिरहला
तर
“हामी होईनौँ दुई किनारा”
कम्तिमा यत्ति प्रमाणित गर्न पनि
हामी पुन: पटक पटक भेटिरहनुपर्नेछ
लामो जीवन सफरमा
तेस्रो कविता
एक गिलास जिन्दगी
एक गिलास
समय बोकेर झारेको हुँ
पाईला धर्तीमा
तातेर बाफ बन्नु अगाडी
म पिएर रित्याऊँ
या
तिर्खाहरुलाई बाँडेर ?
ती तिर्खाहरु बस्तीका
हँसिला देखेर जीवन,
लाग्दछ
बाँडी रित्याईदिऊँ
यी कृत्रिम सुखका
काला मनहरु
लाग्दछ
पिएरै रित्याऊँ
एक गिलास मेरो भागको
आफ्नो जिन्दगी !!!
०००
०००
कवि/लेखक/गजलकार सुदर्शन शर्माबाट थपः
सुदर्शन शर्माका तीन गजल