१२ बैशाख, काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत जारी सिजनमा बार्सिलोना उपाधि नजिक पुगेको छ । उसलाई अब जितका लागि मात्रै ३ अंक पर्याप्त रहनेछ । यदि एथ्लेटिको मड्रिड भ्यालेन्सियासँग पराजित भए बार्सिलोनाले अन्तिम ४ खेलअघि नै उपाधि आफ्नो कब्जामा गर्ने छ ।
यो सिजन लिगमा २ वर्षअघिको लिग विजेता रियल मड्रिड भने बार्सिलोनाभन्दा १६ अंकले पछि छ । यसको अर्थ, रियल उपाधि होडबाट यसअघि नै आउट भइसकेको छ । दोस्रो स्थानका लागि रियल यतिबेला संघर्ष गरिरहेको छ ।
यसैबीचमा रियलमा दोस्रोपटक प्रशिक्षक बनेर आएका जिनेदिन जिदानले भने अझै पनि आफूहरू बार्सिलोनाभन्दा बलियो स्थितिमा रहेको दाबी गर्छन् । उनले ला लिगा आफूहरू प्राथमिकतामा नपरेको भन्ने कुराको खन्डन गर्दै यस्तो बताएका हुन् ।
‘ला लिगा ज्यादै महत्त्वपूर्ण छ । यो सधैंको उद्देश्य हो,’ मिडियासँग उनले भने, ‘अर्को सिजन हाम्रा लागि मुख्य प्राथमिकता मध्येमा यो पनि पर्नेछ ।’
केही समयता बार्सिलोना लिगमा हाबी भइरहेको विषयमा सोधिएको प्रश्नमा कोचले व्यंग्यात्मक उत्तर दिए ‘‘हामीसँग ३३ ला लिगा उपाधि छन्, बार्सिलोनासँग कति ?’ उनले भने, ‘यो सत्य हो कि, पछिल्ला वर्ष उनीहरूले राम्रो गरिरहेका छन्, हामी त्यसलाई मान्छौं । तर, हामीसँग उसका भन्दा धेरै उपाधि छन् । र, मेरा लागि प्रतिस्पर्धा गर्न यो महत्त्वपूर्ण उपाधि हो ।’
ला लिगाको इतिहास पल्टाएर हेर्दा सर्वाधिक धेरै उपाधि रियलले ३३ पटक जितेको छ । तर, बार्सिलोनाले भने हालसम्म मात्रै २५ पटक जितेको छ । यसपटक जित्दा बार्सिलोनाको ला लिगा संख्या २६ हुन्छ । तैपनि, रियल बार्सिलोनाभन्दा ७ उपाधिले अघि नै रहनेछ ।
युरोपको सबैभन्दा ठूलो प्रतियोगिता हालसम्म बार्सिलोनाले जम्मा ५ पटक मात्रै जितेको छ भने रियलले कीर्तिमनी १३ पटक जितेको छ ।