Logo

कविताः म र समिप



Spread the love

समिप पौडेल

म जन्मेको दिन,
मेरो रोदनको आवाज सुनेर
मेरो आमाको अनुहारमा
हँसिलो रेखी परेको बखत
मेरो जन्म भयो ।
म र म ठ्याक्कै दुरुस्तै थियौं,
हामी एकै थियौं,
तर समाजले त एउटा मलाई मात्र देख्यो,
र त्यो मलाई बाबू नाम राख्दियो ।
बिचरा एउटै प्रवृत्तिका दुइटा बच्चा,
एउटा काखा अर्को पाखा ।

११ दिन पनि नपुग्दै एउटा मेरो नाम ‘समिप’
अर्को म अझैं अन्धकारमा ।
बिस्तारै ‘समिप’ नै दुनियाँमा चिनिन थाल्छ,
हरेक उसको सम्बन्धमा समिप नै जोडिन थाल्छ,
समाजको तराजुमा आफुलाई जोख्न
समीप संघर्ष गर्न थाल्छ,
गलत !
संघर्ष त म गर्छु,
त्यो म, जो दुनियाँले महसुस गरेको छैन ।

‘समिप’ एक माटोको मूर्ति हो,
त्यो मुर्तिको जीवन हूँ म ।
समिप एक नाम हो,
३ अक्षरको केवल एक नाम ।
त्यो नामको पहिचान हूँ म,
अध्ययन मेरो, डिग्री समिपको
बोली मेरो, वाहवाही समिपको
कविता मेरो, तारिफ समिपको
समिपको खाना दालभात,
त मेरो खाना जिन्दगी ।

समिपलाई मात्र चिन्ने समाजले
मलाई कहाँ चिन्ला ?
समाजले त काले समिप चिन्छ, गोरो म चिन्दैन,
गोरे समिप चिन्छ, काले म चिन्दैन
दुब्ले समिप चिन्छ, विशाल म चिन्दैन
मोटे समिप चिन्छ, संकीर्ण म चिन्दैन
दृष्टिविहीन समिप चिन्छ, दुर्दर्शी म चिन्दैन
समिपलाई माया गर्ने साथीले,
मेरो दानवत्व चिन्दैन !
समिपलाई हेला गर्नेले,
मेरो दैवत्व चिन्दैन !
समिपको ईर्ष्या गर्नेले,
मेरो मिहिनेत चिन्दैन ।

हे समिप !
तँ र म फरक छौँ ।
तँ जस्तै धेरै ‘समिप’ले आफुभित्रको ‘म’लाई चिन्दैन,
हुनत चिन्न त तैले नि सक्दैनस्,
मलाई चिन्न मेरो नै प्रयोग गर्नु पर्छ !
तैले गर्न सक्ने मलाई अनुभव हो,
समिपलाई बिर्सेर ‘म’को अनुभव ।
संसारले चिनेको समिप, सन्सारलाई चिन्ने म
चर्मचक्षुले देख्ने समिप, ज्ञानचक्षुले देख्ने म
जितको अबिर ग्रहण गर्ने समिप, मिहिनेतमा रमाउने म
खानाले तृप्त हुने समिप, अरुको खुशीले तृप्त हुने म
समिपलाई म ठान्नु अहम् हो, मलाई म ठान्नु ज्ञान ।

हो !
मलाई अनुभव गर्,
अरुको ‘म’ लाई खुशी पार्दाको मलाई अनुभव गर्,
समिपलाई पिडा हुँदा अस्पतालको बेडमा आएको
हिम्मतरूपी ‘म’लाई अनुभव गर्,
अरुलाई पीडा हुँदा, रोईरहेको मलाई अनुभव गर्,
आफुजस्तै अर्को म देख्दा,
जागृतभएको प्रेमरूपी मलाई अनुभव गर् ।

प्रतिक्रिया दिनुहोस्