नयाँ वर्षको नयाँ दिन, हरेकका नयाँ योजना बन्छन् । नयाँ काम शुरु हुन्छन् । विशेष उत्सव योजनाका साथ शुरु हुने नयाँ वर्ष, हरेकको नयाँ नयाँ प्रतिबद्धता, प्रतिज्ञा र भूलसुधारबाट शुरु हुन्छ । म पनि प्रत्येक नयाँ वर्षमा नयाँ योजना बनाउँथेँ । बनाउँथेँ किन कि यो वर्ष बनाइनँ । बनाउने जाँगर चलेन । उत्साह जागेन ।
नयाँ वर्षमा नयाँ योजना बुनेका दर्जनौँ किस्सा छन् मसँग, जो त्यसै बिलाई गए । उतै कतै हराई गए । मैले कुनै वर्ष किताब लेख्ने त कुनै वर्ष नयाँ व्यवसाय शुरु गर्ने योजना बुन्थेँ । कुनै वर्ष बिहे गर्ने त कुनै वर्ष नयाँ प्रेमको शुरुवात गर्ने । कुनै वर्ष आफ्ना कमी-कमजोरी डायरीमा टन्नै लेख्थेँ र अब नयाँ वर्षदेखी सुधार गर्ने बाचाकसम खान्थेँ । कुनैवर्ष यो वर्षमा म यी यस्ता कामहरु गर्नेछुँ भनी नम्बर-बाई-नम्बर कानुन बनाउँथेँ र त्यसको मुनी रातो प्रतिबद्धता सहित नयाँ सिग्नेचर गर्थेँ । मैले मनमनै नयाँ वर्षमा अनेक योजना बनाएँ तर जति पनि नयाँ वर्षमा नयाँ योजना, नियम, कानुन, दैनिकी बनाए पनि केही फरक आएन । म जस्तो थिएँ, उस्तै रहेँ । योजनाअनुरुप कहिल्यै चल्न सकिनँ ।
यो वर्षमा पनि गर्नु पर्ला भनेका कामहरु थुप्रै छन् तर योजनाको रुपमा छैनन् । नयाँ वर्ष शुरु हुर्नुपूर्वका केही दिन अगाडि सुदर्शनको फोन आयो । केही लेख्ने योजना बन्यो । यो ‘लेखक’ स्तम्भ केही सुदर्शनको आग्रह त केही आफ्नै निराशा बीच शुरु हुँदैछ ।
स्तम्भको रुपमा यो मेरो दोस्रो स्तम्भ हो । मेरो पहिलो स्तम्भ ‘हाम्रो पुस्ता’ करिब एक वर्ष नियमित लेखियो-छापियो । कुनै समयमा सल्यान खलंगामा बसेर दैनिक नयाँ नयाँ योजना कोरिन्थ्यो । त्यस्तै युवा साथीहरु थिए । केही गर्ने हुटहुटी भएका । समाज बदल्ने, जीवन बदल्ने चाहना थियो, क्रान्ती गर्ने सपना थियो । न भोक लाग्थ्यो, न थकाई । न कुनै डरत्रास, न मनमा चिन्ता । जे गर्न मन लाग्थ्यो, निस्फिक्रि गरिन्थ्यो । ‘हाम्रो पुस्ता’ स्तम्भका केही लेखहरु यसपाली सरसर्ती हेरेँ, त्यहाँ मैले मेरा सपनाहरु, रहरहरु, प्रेमहरु, विचार बनिनसकेका विचारहरु, राजनीतिका नाममा गरेका राजनीतिहरु आदि-आदि विषयवस्तुमा लेखेको रैछु ।
यो ‘लेखक’ स्तम्भ म किन लेख्दैछु ?
मलाई प्रश्न बनाएर लेख्न सजिलो लाग्यो । सायद बुझाउन पनि । म ‘लेखक’ स्तम्भ लेख्दैछु, किनकि आजभोली म फुर्सदमा छु । यी खाली खाली दिनमा म कि पढ्छु, कि लेख्छु । कि नयाँ नयाँ फिल्म हेर्छु, कि कतै घुम्न निस्किन्छु । खाली दिमाग सैतानको घर भनेजस्तै, आजभोली म अनेक सपना देख्छु, अनौँठा सोचविचार गरिबस्छु । हुने-नहुने संभावना माथी अनेक आकलन, चिन्तनमनन् गर्छुँ । विगतका तमाम कुरालाई सम्झिएर, भविष्यका अथाह कुरालाई कल्पेर, वर्तमानमा म केही फरक गर्ने सोच्दैछु । सोचिरहेको छु । सपनाको मेरो गर्भले छिट्टै आकार लिदैछ ।
म ‘लेखक’ स्तम्भ लेख्दैछु– किनकि म बाँचेको समाजमा अनेक घटनाहरु घटिरहेका छन् । आज सारा गाउँ कलिला युवाहरुको डरलाग्दो आत्महत्याले रित्तो रित्तो हुँदैछ । जल्दाबल्दा युवायुवतीहरु चरम निराशामा दिन गुजार्दैछन् । देशको सिङ्गो आकाश निराशाको कालो बादलले डमक्क ढाकेको छ । म पनि यही यस्तै समयबीच जीवन गुजार्दै छु । समय काट्दैछु र केही लेख्ने, नलेखी बस्न नसक्ने बीचमा केही लेख्ने प्रयास गर्दैछु ।
जीवन यो ब्रहमाण्ड जत्तिकै रहस्यमय छ । अझै त्यो भन्दा बढी । जीवन बुझी कहिल्यै सकिदैन, खोजी कहिल्यै सकिदैन । हजारौँ वर्षदेखी हजारौँ ज्ञानी, तपस्वी, चिन्तक, विद्धान, महात्माहरुले जीवनको रहस्यमाथी धेरै खोज, अनुसन्धान गरेका छन् । धेरै बोलेका छन् । धेरै भनेका छन् । धेरै लेखेका छन् । धेरै सिकाएका पनि छन् । तैपनि जीवनको अन्तिम रहस्य खोलीन बाँकी छ, बोलीन बाँकी छ, लेखीन बाँकी छ । आजसम्म संसारका लाखौँ÷करोडौँ लेखकले अनेक विषयमा अनेक लेखेका छन् । सायद लेखीन बाँकी विषय नहोलान् । तर पनि अब त लेखिसकियो भनेर कसैले पनि लेख्दैन, लेख्न छोड्दैन । संसार लेख्ने त धेरै परको कुरा भयो, जीवनका अनेक पहेँली लेख्ने लेखकले पनि जीवनभर आफ्नै जीवनको एकचौथाई भोगाई लेख्न सक्दैन ।
यो ‘लेखक’ स्तम्भमा लेखक भएर म के लेखुँला ?
मान्छेको जीवन रहस्यमय मात्र होइन, विचित्रको पनि छ । संसारका अनेक प्राणीहरुमध्ये सर्वोत्कृष्ट प्राणीको दर्जा पाएको मान्छेले अनौठा कल्पनाहरु गर्छ, कल्पना मात्रै गर्दैन तिनै कल्पनालाई विश्वास गर्छ र त्यै अनुरुप जीवन जिउँछ । मान्छे मात्रैले अनौठा कर्म गर्न सक्छ, गराउँन सक्छ । मान्छे बाहेकका अन्य प्राणीहरुले निश्चित कर्म गर्न सक्छन्, उनीहरुको निश्चित पहिचान हुन्छ । उनीहरुको जीवन प्रकृति निश्चित परिधीबीचमा रहेको छ ।
तर मान्छे ? मान्छे कुकुर जस्तै भएर सोच्न सक्छ । काकाकुल भई आकाशमा कावा खान सक्छ । मान्छे माछा भई बग्न सक्छ, बादल भई उड्न सक्छ । मान्छे गोरु भई जोतिन, हुचिल भई घोरिन सक्छ । मान्छे साँच्चै विचित्रको छ र उसले गर्ने हरेक कामकुरा पनि विचित्रकै छ ।
यो ‘लेखक’ स्तम्भमा लेखक भएर के त्यस्तो विचित्रको लेखुँला ?
जीवनमा केही न केही त गर्नु पर्छ नै । केही न केही त बन्नु पर्छ नै । यो संसारका हरेक जीवनहरुले आफ्नो कर्मको बहिखातामा केही न केही कुरा लेखी गए । भोगी गए । ती तमाम जीवनले लेखेका कुराहरु नै आज हामी इतिहासको रुपमा पढ्छौँ । साहित्यको रुपमा पढ्छौँ । आविष्कारको रुपमा भोग्छौँ । उपभोक्ता भएर अनेक चिजवस्तुको उपभोग गर्छौँ । ती जीवनहरुले भनेका, गरेका कुराहरु नै आज हामी ज्ञानको रुपमा पढ्छौँ, विचारको रुपमा अनुसरण गर्छौँ । कथा, कहानी, किंवदन्तीको रुपमा सुन्छौँ । ती तमामले अनेक कर्म रची गएकाले नै आज हामी यो संसार बनिबनाउ, तयार भएको देख्छौँ ।
जन्मिने बित्तिकै हामीसँग अनेक कुरा हुन्छ । हामी बस्ने घरसमाज, हामीले पढ्ने स्कूल अनि कापीकिताब, शरीर ढाक्ने थरीथरीका कपडा, भोकलाग्दा खाने खाना, बिरामी हुँदा खाने औषधी, हिड्नलाई बाटाहरु, हेर्नलाई थरीथरीका सुन्दर चिजवस्तुहरु । हरेक जीवनका हरेक कृतिले आज हामी मान्छे धनी भएका छौँ । मान्छेका योगदानबाट मान्छेले जीवन पाउने हुँदा, कुनैपनि मान्छे केही नगरी बस्न सक्दैन । केही नबनी, केही नभई रहन सक्दैन ।
कसैले जीवनमा ठूलठूला क्रान्ति गर्छन, आन्दोलन गर्छन, बलिदान गर्छन । कसैले जीवनमा नयाँ नयाँ कुरा पत्ता लगाउँछन्, नयाँ चिजवस्तुको आविष्कार गर्छन । कसैले कागजमा के के हो के के लेख्छन्, कोर्छन् र नयाँ नयाँ सृजना, कृतिको रचना गर्छन् । कसैले वर्षौँ त्याग, तपस्या, ध्यानजप गर्छन् र ज्ञान फैलाउँछन् । कसैले व्यापार, व्यवसाय गर्छन् । कोही किसानी गर्छन्, कोही शिक्षक हुन्छन् । कोही प्रशासक हुन्छन्, कोही राजनीतिज्ञ । कोही डाक्टर, वकिल, इन्जिनियर हुन्छन् कोही कलाकार । कोही पत्रकार हुन्छन् त कोही जोगी, फकिर । कागजमा लेखिने कृतिको लागि मात्र कलम चाहिन्छ, जीवनमा लेखिने कृतिको लागि कलम चाहिदैँन । कलमले लेखेको भन्दा जीवनले लेखेको कृति कता हो कता शक्तिशाली हुन्छ । कलमले भन्दा बढी जीवनले लेखेका कर्मकृतिले नै संसार यहाँसम्म आइपुगेको छ ।
‘लेखक’ भन्ने स्तम्भमा म के-के लेख्नेछुँ ?
फेरि मैले आफैलाई प्रश्न गरेँ । किनकि म आफैलाई सजिलो बनाउन कोशिस गर्दैछु । र तपाईलाई पनि । कलमले लेख्नु अघि, पाइलाले लेखेको छ । पाइलाले केही लेख्नु अघि, आँखाले लेखेको छ । आँखाले केही लेख्नु अघि, मनले लेखेको छ । केही भन्न नसकेका कुरा, केही गर्न नसकेका कुरा । अपुरा काम अनि अधुरा सपनाको अभिव्यक्ति हो – ‘लेखक’ स्तम्भ ।
यसमा म तिनै कुरा लेख्नेछु, जहाँ कलमले लेख्दा लेख्दै छुटेका मेरा कैयौँ यादहरु छन् । सम्झनाहरु छन् । सम्बन्धहरु छन् । कहानीहरु छन् । यसमा म तिनै कुरा लेख्नेछु, जहाँ हिड्दा हिड्दै मेरा पाइलाहरुले अनेक हन्डर ठक्कर खाएका छन् । अनेक घात÷प्रतिघात भोगेका छन् । अनेक घुम्ती, मोडहरुमा मोडिएका छन् । अनेक बाटो÷चौबाटो र गल्ली गल्लीमा अल्मलिएका छन् । यसमा म तिनै कुरा लेख्नेछु, जहाँ मेरा आँखाले अथाह आँसु बगाएका छन् । क्यामरामा ओगट्न अनि अटाउँनै नसकिने दृश्यहरु कैद गरेका छन् । अनौठा कथा देखेका छन् । र, कैयौँ चाहनाहरुलाई, रहरहरुलाई, सपनाहरुलाई बाई बाई भन्दै आएका छन् । यसमा म तिनै कुरा लेख्नेछु, कयौँ चोटि मेरो मन चिरा चिरा भएको छ । धुजा धुजा भई फाटेको छ । सम्हाल्नै गाह्रो हुने गरी लथालिंग भएको छ ।
र फेरि कत्तिपटक चंगा भई उडेको छ । कति कुराहरु म आजसम्म पनि कसैलाई भन्न सकेको छैन, तिनैकुरा यसमा लेख्ने कोशिस गर्नेछु । कैयौँ कामहरु अपूरै छोडिएका छन्, ती पुरा गर्ने प्रयत्नस्वरुप लेख्नेछु । कैयौँ सपनाहरु अधुरै छोडिएका छन्, ती सपनाहरु पछ्याउने दौडमा लेख्नेछु । सबैभन्दा मुख्य कुरा यसमा म त्यै लेख्ने कोशिस गर्नेछु, जो लेखक भएर लेख्नेछु, देख्नेछु, भोग्नेछु ।
मान्छेले कति कुरा सोच्छ, सोची नसक्दै बिर्सन्छ । मान्छेले कति कामहरु गर्छ, गरिनसक्दै छोड्छ । मान्छेले कत्ति जनासँग हात मिलाउँछ, मिलाई नसक्दै छुटाउँछ । मान्छेले कत्ति रहरहरु उमार्छ, उम्री नसक्दै सुक्छ । मान्छेले कत्ति सपनाहरु सजाउँछ, सजाई नसक्दै हराउँछ । ठिक यसरी नै, के थाहा यो ‘लेखक’ स्तम्भ पनि यतै कतै छुट्छ कि ?
यो स्तम्भ त्यतिबेला सम्म लेख्नेछु, जतिबेला सम्म मलाई लेख्न मन लाग्छ । जसरी मन लाग्छ त्यसरी नै लेख्नेछु । जुन विषयवस्तु, शैलीमा लेख्न मन लाग्छ त्यसमै लेख्ने छु । जहाँ मन लाग्छ त्यहीँ लेख्नेछु । केही न केही लेख्ने मेरो प्रयास जारी छ ।
हेरौँ मेरो यो प्रयास कस्तो हुन्छ ? हेरौँ, तपाईहरुलाई खुशी राख्न सक्छु कि सक्दिनँ ? सुदर्शन ब्रो–कमशेकम मलाई यस्ता अन्टसन्ट कुरा गरेर बिना शिर्षकको यो लेख लेख्न मनै थिएन । प्रिय पाठकमन – यसपाली यस्तै भयो ।
सरी !!!