Logo

कविताः एक आत्माको आत्मकथा



Spread the love

तिर्थ राज अर्याल

जब म निद्रामै थिएँ,

कोही मलाई सजाउँदै थिए

कोही बडो मायाले मलाई नुहाइदिँदै थिए

म जान्दिनँ,

कुन त्यो अचम्मको खेल चल्दै थियो त्यहाँ,

बच्चालाई जसरी काँधमा मलाई उठाउँदै थिए ।

सबै आफ्ना मेरा

अनि केही पराई पनि

सबै मेरो सामु उभिएका थिए,

तर हरेकको प्रयास

मनबाट मलाई भुलाउनु थियो

जसले कहिल्यै मायाले

एक शब्द बोलेनन् जिन्दगीभर

उनै मनहरु रोइ-कराइ माया देखाउँदै थिए ।

म अचम्म परे

किन भने वरीपरी उभिएका सबै

हैरान थिए

सायद म नउठेको देखेर

म निदाएको देखेर

जोड जोडले सबै मलाई जगाउँदै थिए !

अब त म आफै डराएँ,

मेरा अंग-अंग कम्पित हुँदै गए

त्यो अजङ्गको बिस्तरा देख्दा

जहाँ मलाई सधैको लागि सुताउँदै थिए ।

जुन मनहरुमा मायाको

सागर थियो मेरो लागि

उनै मनका हातहरुबाट आज

मलाई जलाउने तयारीमा थिए !

म निद्रामा थिएँ

मलाइ सजाउँदै थिए

म निद्रामै थिएँ

मलाइ जलाउँदै थिए !

प्रतिक्रिया दिनुहोस्