Logo

इन्धन नभरी विमान उडाउन खोज्दा…



Spread the love

२८ चैत, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीतर्फ उड्न लागेको भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । विमानले इन्धन कम रहेको अवस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे । तर, पाइलटले विमान उडान भर्नु केही मिनेटअघि मात्र तेल सकिएको थाहा पाएपछि उडान रद्द गरेका थिए ।

विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रूपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए । बुधबार ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रूपमा पुनः जहाजलाई पार्किङमा फर्काइएको थियो । इन्धन भर्न फेरि पर्खनु परेकै कारण जेट एयरलाइन्सको उक्त उडान करिब दुई घण्टा ढिला भएको थियो । ३ : ४० मा उड्नुपर्ने जहाज बेलुका ५ : २९ मिनेटमा उडान भरेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

जेट एयरवेजको उडान नम्बर २६७ विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । पाइलट मनोज अरोडाले उडाएको विमानमा १ सय ३८ यात्रु सवार थिए । यो अवस्थाबारे बोल्दै विमानस्थलका एक अधिकृतले भने, ‘जहाजले यात्रु बोर्डिङभन्दा पहिले नै इन्धन भरिसक्नुपर्ने व्यवस्था रहेको बताए ।’ जेट एयरवेजको घटनामा भने पाइलटलाई सुरुमा जहाजमा भएको इन्धनको अवस्थाबारे थाहा नभएको उनको भनाइ छ ।

ती अधिकृतका अनुसार जेट एयरवेजका पाइलटले उड्नै लागेको जहाज पार्किङ गरे । र, एयर ट्राफिक कन्ट्रोलरलाई खबर गरी आफ्नो जहाजमा इन्धन भर्नुपर्ने जानकारी गराए । त्यसपछि उक्त जहाजमा इन्धन भर्ने समय मिलाउने र भरीसक्न लाग्ने समय आँकलन गर्दै उक्त उडान साढे पाँच बजेलाई तय भएको थियो ।

एयरलाइन्सहरूले जहाजमा इन्धन कहाँ भर्ने, कति भर्ने भन्ने आफ्नै योजना बनाएका हुन्छन् । सामान्यतया अन्तर्राष्ट्रिय उडानमा आउँदा भरेर आएको इन्धनले फर्किन पुग्दैन । त्यसैले, जहाजले काठमाडौंमा पनि इन्धन भर्छन् । इन्धन जहाज होल्ड र डाइभर्ट हुँदा पनि पुग्नेगरी हुनुपर्ने विमानस्थलका ती अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्