१९ चैत, काठमाडौँ । विद्यार्थीहरुसँग कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा धरौटिमा छूटेका छन्।
आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो। उनीहरु सोमबार जिल्ला अदालत कास्किले मागेको जनही १७ लाख बुझाएपछि रिहा भएका हुन्।
विद्यार्थीहरुसँग बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते कलेजका मुख्य सञ्चालक खुमा अर्याल, प्रमुख प्रशासकीय अधिकृत खनाल, परीक्षा नियन्त्रक शर्मा लगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो। कलेजका अध्यक्ष अर्याललगायत अन्य नौ जना सञ्चालक र कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ।