उज्जवल राज घिमिरे
तिमीले पाइसकेकी
तपाईंको आँखामा कुनै दिन हेर्दा,
तिमीलाई आफ्नो प्रतिबिम्ब
अधुरो झैँ लागे
तिमी आफुलाई अपुरो छु नठान्नु
तिम्रो छायाँ,
अझै कसैको आँखालाई
दिन रात शीतल पार्दो हो ।
तिम्रो नयाँ तपाईंको
काखमा लुट्पुटिएर कुनै दिन,
अधरहरुको रसपान गर्दा
उसले त्यति उत्साह नमाने,
तिमी आफ्नो प्रेमको मिठास
सकियो नठान्नु ।
तिम्रो अधरको छाप
अझैं कसैको ओठमा
मधुमासको मधुरता भर्दो हो ।
ऋतु फेरिन्छन, ऋतु दोहोरिन्छन् ।
त्यस्तै मान्छे नि नक्कल गर्छ
उस्का पनि प्रेमका पात्र फेरिन्छन्,
सम्बन्ध दोहोरिन्छन् ।
दोहोरिन जान्नेहरु
प्रेमको बजारमा सदाबहार चलिरहन्छन् ।
दोहोरिन नजान्नेहरु
दोहोरिई दोहोरिई जलिरहन्छन् ।
कुरा अझैं घिनलाग्दो न पारौँ ।
प्रेम सुन्दर चिज नै रहोस् ।
कुरा यति मात्र हो कि ।
तिम्रो प्रेम सरे पनि,
मेरो प्रेम मर्न सकेन ।
दोहोरिन त जाने मैले नि,
तर दोहोर्याएर प्रेम गर्न सकिनँ ।
०००
०००