१० चैत, दाङ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ स्थित मावि सेन्टर तुलसीपुरबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सहभागी भएकी छिन् ।
आजदेखि शुरु भएको परीक्षामा ३८ वर्षीया चौधरीले अङ्ग्रेजी विषयको परीक्षा दिइन् । आज पहिलो परीक्षा राम्रो भएको राससलाई प्रतिक्रिया दिइन् । “पहिलो दिन ढुक्क भएर परीक्षा दिए”, उनले भनिन्, “राम्रो भएको छ ।”
विसं २०७३ मा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएपछि उनको औपचारिक पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा नियमित विद्यालय गएर पढेपनि कक्षा १० मा भने नियमित जान नपाए पनि स्वअध्ययन गरेर परीक्षा दिएको उनिले बताउँछिन् । उनकी छोरी विनुले काठमाडाैँस्थित बसुन्धराबाट परीक्षा दिइरहेकी छिन् । नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा भर्ना भएकी चौधरीको मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ ।
विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भएपछि विभिन्न समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि आफूले पढ्न शुरु गरेको उनले प्रतिक्रिया दिइन् । केही वर्ष स्वअध्ययन गरेपछि चौधरीले औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने इच्छा भएको बताइन् । सचेतक भएपछि धेरै कार्यक्रममा सहभागी हुनुपर्ने भए पनि कक्षा १० को लागि पनि घरमा बसेर अध्ययन गरेको उनि बताउँछिन् ।