८ चैत, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ हजार १०५ अण्डा र ४१८ केजी दाना खाल्टोमा पुरिएको छ ।
यही चैत २ गतेदेखि कृषि मन्त्रालय काठमाडौँबाट आएका पशु चिकित्सकसहितको प्राविधिक टोलीले आज बिहानसम्म स्थानीय नागस्वतीको करीब ३२ कुखुरा फार्ममा अनुगमन गरी बिरामी चल्ला र कुखुरालाई नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख चिकित्सक डा चेतनारायण खरेलले बताए ।
उक्त वडाको विभिन्न फार्ममा स्थानीय कृषकले उत्पादन गरेको कुखुरा र चल्ला, अण्डा र दाना गरी करीब रु एक करोड ५० लाख बराबरको सम्पत्ति क्षति भएको प्रभावित क्षेत्रका कृषक एवं हेटौँडा उपमहानगरपालिका–७ का वडाध्यक्ष राजन थापाले जानकारी दिए । सो क्षेत्रमा अब बर्डफ्लु रोग नियन्त्रणमा ल्याइसकेको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।