अशोक तिम्सेना ‘कन्फ्युज’
घाँटीमा एयरफोन जेलिएझैं
जिन्दगीमा दुःखहरु अल्झिनु स्वभाविकै हो
तर
अचम्म भैरहेछ यहाँ
अगाडी समयले तानिरहेछ
दाँया बाँया आफन्त छन् रमिता हेर्दै
पछाडी एक जिन्दगी बज्रिदै घिस्रीरहेछ ।
जसलाई म चाहेर पनि छाड्न सक्दिनँ
तर म मुक्ति चाहन्थे यो दुनियाँबाट
सारा व्यथा त्यागेर
रम्नलाई एक्लै, अर्कै दुनियाँमा ।
भुत्ल्याउँछु आफ्नै जिन्दगीलाई
छरपस्ट पार्छु अतितलाई
चोर औँला डुलाउँदै खोज्छु खुसी
खै कहाँ छ ?
नियालेर हेर्छु आँखीभौ उचाल्दैँ
एक डरलाग्दो चिज
के होला त्यो ?
किन, कसरी मिसियो यहाँ ?
सुम्सुम्याउँछु, चिउँडो उचाली हेर्छु
ओहो ! यो त दुःखको कहानी हो
ऊ आउँदा कति रोएथे
कति छट्पटाएथें
कति चिच्याएथें
मन त थियो टपक्क टिपेर मिल्काउने
तर एकाएक माया लागेर आयो,
भित्रै देखि ती दिनहरुको
आँशुले भिजेका रातहरुको
धुवाँसँग उडेका विश्वासहरुको ।
प्रेम पर्न एकदिनको च्याट नै काफी छ !
उसँग त आधा जिन्दगी कटाएको छु
माया लाग्छ ती पिडाहरुको
खुसी लाग्छ दुःखले साथ दिदाँ
कोही नहोलान्, मलाई बाल ?
केही त छ नि मेरो सहारा
जोसँग जिन्दगी गुज्रिनेवाला छ ।
सबै सुनाउन चाहन्थे मेरो कहानी
तर कसरी सुनाऊँ म !
आँसु छरिँदा सान्त्वना विहीन
कलम समातिएका अँधेरी रातहरु
मुटु दुख्दा एक्लै बस्न बनाइएका
ती झुटा बहानाहरु !!
भो, म थाकिसके अब
मनले मानेन अरुलाई रुवाएर
आफू मुक्त हुन,
झुम्म छु म निद्राको प्यासी
जब दुनियाँ खुसी हुने सुइँको पाउँछु
जिन्दगीले कोल्टे फेर्ने छ
एक गहिरो निन्द्रा सँगै ।
०००
०००