सेमिना गौतम
गिज्याइ रहेछन् मलाई
यी सुक्खा पहाड्ले
किनकी
मैले यताको पानीले
खाडीलाई भिजाएर आएको छुँ ।
मरुभुमीलाई जंगल
बनाएर आएको छुँ ।
आफु जन्मेको धर्तीलाई नाङ्गै राखी
पराइलाई शृङ्गारेर आएको छुँ ।
लाग्छ, यो मेरो गाउँको माटो
मेरो गाउँको पानीमा
सँगै बाल्यकालमा हुर्केको
मेरो आगनको रुख
सबै हेरिरहेछन् मलाई
सुनाइरहेछन् मलाई
बलात्कृत चेलीको रोदन
हिंसा र हत्याले पिल्सिएको रोदन
अनि भयानक आक्रोश ।
अवाक भएको छुँ म
घाँटी गाँठो परेर आएको छ,
आफ्नो झोला भर्न हिँडेको
आफ्नै माटोको उर्बरता रित्त्याएको रहेछु
अरबको खाडीको घाममा
काम बेची आएको म
खुशीहरु पोको पारी
गाउँ आएको म
सारा संसारका खुसी आफ्नो
घर भित्र्याउन आएको म ।
पाइला पाइलामा ऐठन परेपनि
आतुर छ यो मन त्यो आँगन टेक्नलाई
जहाँ म फुलेको थिएँ
जहाँ मेरा पखेटा लागेका थिए ।
ठुलो काठको बाकस
लम्पसार मेरो आँगनमा
सुतिरहेको देख्छुँ म ।
नुनिलो आँसुको धारामा
मेरो गाउँ रोइरहेको सुन्छु म
यसो बाकस तिर नियाल्दा
आफ्नै स्वरूप देख्छुँ म ।
कठै मेरी आमाको आस
मेरी आमको सास
म त लास भएको देख्छु
मेरो खुशीको पोको
मेरी आमाको धोको
लास सँगै बन्द भएर
मेरो घरलाई निलिरहेको देख्छु म !!!
०००
गौतमको ‘मृत्यु’ कविता पुल्चोक ई. क्याम्पसमा आयोजित ‘IOE POETRY CHAMP 2.0’ मा ‘टप १५ फिनालिस्ट’मा पर्न सफल दरिएको थियो । उक्त प्रतियोगिताको फिनालेमा दिइएको उनको लाइभ प्रस्तुति ।
Aloud Official द्वारा खिचिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
https://youtu.be/3GzP1o6bVRM?t=42