शिला अर्याल
बिहानी यात्राबाट फर्केपछि
हजुरबुवाले
सुनसान बाटोको बिचमा
गोली देखेको कुरा बताउनु भो
अब के-के हुन्छ ?
इतिहासमा बगाएको
पसिना र रगत
सम्झँदा सम्झँदै
प्रेसर बढेछ,
अस्पतालको
ईमर्जेन्सी ढोका
ढकढकाउन जानुपर्ने भो
एम्बुलेन्स गुड्नै मान्दैन
कतै !
त्यही गोली सग
पाङ्ग्राको भेट हुन्छ कि भनेर !
उता पुतली दिदीको
बालुवा चाल्ने जागिर पनि
छुट्टी भयो रे
नेपाल बन्द भनेर !
उनलाई मात्र छाक टार्ने पिर छ,
ठुलाबडाहरु
एक वचनले
देश बन्द गर्छन्,
विचरा ! पुतली दिदी
आफ्ना लालाबालाको
मुख बन्द गर्न बाध्य छिन् ।
के गर्नु ?
रामेदाइको हुनेवाला सन्तान
संसार देख्न हतार छ,
हुन त
बिचरा !
पेटभित्र उसलाई
नेपाल बन्द भन्ने के थाहा !
भाउजु प्रसब ब्यथाले
छट्पटाइरहेकी छिन्
दाई भने बल्ल
डोको बुन्न
चोया खोज्दै छन् !
आजकल मलाई
‘नेपाल बन्द’ भनेको यस्तो लाग्छ,
नेपाल आमाको मुख च्यापेर
‘हाँस्न सिक’ भन्नु जस्तो ।
त्यसैले
के
समस्याको समाधान
खाली बन्द र द्वन्द्ध
मात्रै हुन् त ?
०००
०००