Logo

कथा : यात्रा



Spread the love

सुदर्शन प्रकाश खड्का

साला जिन्दगी ! अप्ठ्यारोमा फलेको फर्सी जस्तो ।

तपाई बसमा हुनुहुन्छ । सिट नपाएर लामो समयदेखि उभिरहनु भा’छ । खुट्टा फत्रक्कै गलेका छन् । बल्ल-बल्ल एउटा सिट खाली हुन्छ । हतार गरेर बस्न खोज्दा देख्नुहुन्छ, सँगैको सिटमा बसेकी छिन्, तपाईंकी पूर्व प्रेमिका !

नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार ।

हो, सायद यस्तै अप्ठ्यारोमा फलेको फर्सी हो जिन्दगी ! के गर्न खोज्यो के हुन्छ ! यता सिलाउन खोज्यो उता फाट्छ । यता मिलाउन खोज्यो, उता भत्किन्छ । दुनियाका बिख्यात गणितका विद्वानहरु अक्सर जिन्दगीका हिसाब मिलाउन सक्दैनन् ।

रहरका बिस्कुन मनको आँगन भरी फिंजायो, कुन बेला बाध्यताको झरी पर्छ र ओसिन्छन् खुसीका बोराहरु !

०००

साउनको अन्तिम हप्ता । साँझ पर्ने तरखरमा छ । झरी परिरहेकै छ । आकाश उघ्रिने छाँटकाँट छैन । काठमाडौंका सडकहरु रोपाईं गर्न लायक भएका छन् । सडक हिलो र खाल्डो सहित यात्री सँग युद्ध गर्न तम्तयार छन् ।

एक्कासी चाइफोन बज्यो । उठाएँ । उताबाट बुबाको आदेश सुनियो,“पर्सी हजुरआमाको चौरासी गर्नु पर्ने भो, तँ आजै घर फर्किहाल् त !” बुबाको कुरा काट्न सक्ने हिम्मत थिएन । “हस्” भनेर फोन राखिदिएँ । अरु कोही सँग नडराउने भए पनि बच्चैदेखि बुबा सँग चाहीं उल्कै डर लाग्थ्यो मलाई । अरुले जति भने पनि केहि नलाग्ने तर बुबाले एकचोटि आँखा तरेसी ठाउँको ठाउँ पिसाब खुस्केला जस्तो हुन्थ्यो ।

एक्कासी एकदम अनिश्चित यात्रा आइलाग्यो । साला मान्छेको पुरै जिन्दगी नि एउटा अनिश्चित यात्रा न हो । एकछिन अघिसम्म सँगै हात समातेर हिंडेका मान्छे कतिखेर कुन दोबाटोमा छुट्टिने हुन् पत्तो हुन्न । र, फेरि कोही बेला तिनै मान्छे झुक्किएर पनि भेटिए भने कुन बेला शिर झुकाएर, नजर लुकाएर, आँखा तरेर, मुन्टो बटारेर हिंड्नुपर्ने हो कस्लाई थाहा ?

घर त जाने । तर आफ्नो मैलो जिन्स पाइन्टबाट २००० भन्दा एक रूपिया बढि निस्केन ! तलब आउन अझै १  हप्ता बाँकी थियो ! टिकट कै १५०० रुपियाँ पर्थ्यो, बाटोमा खाजा खर्च  ४००-५०० चानचुन । कोही सँग सापटी मागौं कि झैँ पनि नलागेको हैन । तर अरु कोई सँग मुखै फोरेर पैसा माग्न साह्रै अप्ठ्यारो लाग्थ्यो । रित्तो गोजी बोकेर घर पुग्दै थिएँ । भरिएर पुगे पनि, रित्तो पुगे पनि आफ्नै घर त हो । रित्तो गोजीलाई भरिएको मनले सान्त्वना दिएँ । हतार गरेर लुगा कोचें र हिड़ें बसपार्क तिर ।

खलासीहरुको “सिट…खाली सिट…खाली”ले बसपार्क गुन्जायमान थियो ।
म टिकट काउन्टर अगाडि उभिएँ ।

काउन्टर भित्रको ख्याउटे मान्छेलाई आफुलाई बिर्तामोडको टिकट चाहिएको कुरा सुनाएँ ।

केही नबोली उस्ले  टिकट प्याड निकालेर केही लेखे जस्तो गर्यो र टिकटको अर्धकट्टी मलाई दिदैँ भन्यो,“१५५० भाइ। ”
मैले दुइटा हजारको नोट ऊतिर तेर्स्याएँ ।

फिर्ता चार सय पचास रुपैयाँ दुइ औंलाले च्यापेर म तिर तेर्स्याउँदै, चोर औंलाले काउन्टर अगाडि रोकेको निलो गाडी तिर देखाउँदै उस्ले भन्यो,“ऊ गाडी यही हो । ६ बजे हिंडिहाल्छ । धेरै टाढा नजानू, गाडी छुट्ला फेरी ।”

फिर्ता आएको डेढ सय मैलो जिन्स पाइन्टको खल्तीमा जतन साथ हालें र काउन्टरको मान्छेले देखाएको गाडी तिर हुत्तिएँ । बस लगभग भरिसकेको थियो ! टिकटमा लेखेको सिट नम्बरमा आखाँ डुलाएँ र अन्तिमतिरको झ्याल पट्टिको सिटमा कोच्चिएँ । कानमा इएरफोन कोचें, माक्स र रत्नपार्कमा किनेको डेढ सयको चस्मा लगाएँ । यति गरेपछि धुवाँ धुलोबाट पनि सुरक्षित, कसैले चिन्दा पनि नचिन्ने !

नत्र लामो यात्रा गर्दा कतै देखेको मात्र मान्छे भेटिए भने पनि सात पुस्ते सोधेर हैरान पार्छन् ! मेरो छेवैको सिट खाली नै थियो मन मनै मख्खिएँ ।

“आज चाहीं सुतेरै जान पाइने भै’यो । दुइटा सिटमा सुख-दुख खुट्टा खुम्च्याएर सुत्न मिलिहाल्छ ।”
मोबाइलको प्ले लिस्ट तिर चिहाएँ । मलाई नै कुरेर बसेको केही गीत फुल भोल्युममा कानमा घनक्क घन्किए । गीत सँगै घन्किए, गीत भित्र लुकेका केही कथाहरु । केही यादहरु । केही बातहरु ।

थोरै झ्याल खोलेर बाहिर तिर आँखा डुलाएँ । एकछिन छुट्टिन र भेट्टिन आतुर बसपार्कको अनुहार नियालें । मेरा आँखा काउन्टर अगाडि उभिएको एउटा बच्चा बोकेको नारी आकृतिमा अडियो । निलो जिन्स, कालो टप्समा सजिएको त्यो गोरो आकृति कतै देखेको आकृति त हैन ?
कतै त्यो आकृति कानमा घन्किदै गरेको उदास प्लेलिस्ट तिर लुकेको कुनै बर्षौं पुरानो चेहेरा पो हो कि ?

०००

एकदिन च्याट गर्दा गर्दै उसले सोधेकी थिई,“तिमी सिरियस त छौ नि ?”

एकछिन त झनन रिस उठ्यो । उत्तर फर्काएँ,“के अब म लभ पर्यो भनेर निधारमा लेखेर हिड्नु ? कि ढोल बजाउँदै हिड्नु ?”

सायद सम्बन्धको सुरुवाती अनिश्चितता ! हुन त मेरै बानी पनि अचम्मको थियो ! माया गर्न आउने, देखाउन नआउने ! कोही राम्रो लाग्नु एउटा कुरा, मन पर्नु अर्को कुरा । कोही मन पर्नु एउटा कुरा, माया गर्नु अर्को कुरा । माया गर्नु एउटा कुरा, माया देखाउनु अर्को कुरा ।

मेरो यही बानीले गर्दा कैयौं चोटी ठाकठुक परिराख्थ्यो । हुन त जमानै दिखावटी ! केटाहरू आफ्नो स्वार्थ पूरा नहुन्जेल उत्पात माया देखाएर चाटौला झैँ गर्थे । आफ्नो स्वार्थ पुरा भएसी मैले सुताएको केटी त हो नि भन्दै फुक्दै हिंड्थे । तर मलाई चाहीं अनेक स्वाङ थाहा थिएन । केबल थाहा थियो, म उस्लाई प्रेम गर्थें – साँचो प्रेम ।

अर्को दिन टिचिंग हस्पिटल
बल्ल बल्ल पैसा खोजेर डिपोजिट गराएँ । औषधी किनेर ल्याएँ । हजुरबालाई माथि अप्रेसन थिएटरमा लगे । म पनि पछिपछि जान खोज्दै थिएँ, नर्सले रोकिन् । वार्ड भन्दा बाहिर पट्टिको भित्तामा अडेस लागेर बसें । अगाडि पट्टिको भित्ते घडीले १० को रेखा छोइसकेछ । यसो बाहिर हेरें, चकमन्न घाम लागेको थियो । तर मेरो मनको आकाशमा भने कालो बादल मडारिदैं थियो ।

हजुरबा बेला बेला काठमाडौं आइरहनु हुन्थ्यो । कहिले आफन्तको बिहेमा फन्को लाउन पुग्नुहुन्थ्यो । कहिले जचाउनको लागि आफैं टिचिंग पुग्नु हुन्थ्यो । काठमाडौको प्रायः नक्सा हजुरबालाई कन्ठै जस्तो थियो । कतै कहीं काम नभएको दिन हिंडेरै काठमाडौको फन्का लाउनु हुन्थ्यो । अनि बेलुका कोठामा फर्किएर आँखीभौ माथि सार्दै आफु काठमाडौं बस्दा ताकाका केही कहानी सुनाउँदै भन्नु हुन्थ्यो ।
“ओहो काठ्मुन्डू त हेर्दा हेर्दै कस्तो भो गाठें ।“

हजुरबा काठमाडौं आउनु भएको दुइ दिन पनि भएको थिएन । सुत्ने बेलामा एक्कासी छाती दुख्यो भन्नु भयो । तातो पानी तताएर दिएँ । पानी खान नपाउँदै एक्कासी अचेत हुनु’भो । हतार गरेर नजिकको हस्पिटल लगें । तर त्यहाँ भर्ना लिन मानेन ।

त्यहाँका एकजना डाक्टरले भने,“उहाँको अवस्था एकदमै क्रिटिकल छ । यहाँ हुदैनँ तुरुन्त टिचिंग लैजानू ।”

त्यहींको एम्बुलेन्स खोजेर टिचिंग लगें । बल्ल-बल्ल इमर्जेन्सी वार्डमा भर्ना गर्यो । एकजना डाक्टर आएर जाँच्न थाले । यसो घडी हेरें, रातको एक बज्दै छ । हतपत गरेर घरमा फोन गरें । घरबाट आमा-बा आइपुग्न कम्तिमा एक दिन लाग्थ्यो । सबै कुरा आँफैलाई आइलाग्यो । एकछिन पछि डाक्टरले जाँची सकेर नर्सलाई के-के भने कुन्नि ! एकछिन पछि नर्सले एउटा कागज दिएर औषधी ल्याउन भनिन् । हतार गरेर औषधी ल्याएँ । अब होस आउला, तब होस आउला भनेर अस्पतालको भित्ते घडी हेर्दै रात बित्यो ।

बिहान 8 बजे तिर एकजना सेतै  फुलेका डाक्टर आइपुगे । सिनियर डाक्टर सायद । हजुरबालाई जाँचे । त्यसपछि दुइ-तीन ओटा के-के टेस्ट गरेपछि डाक्टरले चस्मा खोल्दै भने,“क्रोनिक कार्डियाक डिसअर्डर छ । तुरुतै अप्रेसनको तयारी गरिहाल्नु पर्छ । नत्र जे पनि हुन सक्छ ।”

डाक्टरको “जे पनि हुन सक्छ” ले एकछिन त करेन्ट लागे झैँ भयो । एकछिन पछि एकजना नर्स आएर फेरी एउटा कागज थमाइन् र भनिन्,“ यो थप औषधी लिएर आउनु अनि ३ नम्बर काउन्टरमा पैसा जम्मा गर्नू ।”

हतार गरेर पैसा खोजें, काउन्टरमा जम्मा गरें । औषधी ल्याएँ । साँढे आठ बजे तिर हजुरबालाई माथि अप्रेसन थिएटरमा लगे । लानुभन्दा अगाडि एउटा कागजमा सहि गर्न लगाए  हात कामेर राम्रो सँग सहि गर्न पनि सकिंनँ ।

हजुरबाले “यो नातिकेटोको बेहेमा एक फन्को नघुमी त मलाई केही हुँदैन” भनेको झलझली याद आयो । आँखा रसायो । सर्टको फेरोले कसैले नदेख्ने गरी आँसु पुछें ।

बुबा-आमा प्राय कामको शिलशिलामा बाहिर हुने । उसो त म हजुरबा-हजुराआमा सँगै हुर्किएँ । हजुरबाले उल्कै प्यारो गर्नुहुन्थ्यो । सानो हुँदा साँझतिर हजुरबा कै पुच्छर लागेर बजार घुम्न जान्थें । बजारका मान्छेले हजुरबालाई नमस्ते गरेको देख्दा लाग्थ्यो, यो दुनियामा मेरो हजुरबा भन्दा ठुलो कोही छैन ।

हजुरबा बजारका मान्छेलाई “मेरो उत्तराधिकारी” भन्दै मेरो टाउको सुम्सुम्याउनु हुन्थ्यो । राति सुत्ने बेलामा हजुरबाका पालाका एक दुइ वटा कहानी नसुनी निन्द्रा नलाग्ने । हजुरबाले काखमा राखेर कथा भन्न थालेपछि कान ठाडा हुन्थे ।
अझै पनि याद छ मैले एसएलसी पास गरेर काठमाडौं आउने बेला हजुरबाका आँखा रसाएका थिए । मैले +२ पास गरेको खबर सुनाउँदा पनि हजुरबाले गम्छाले आँखा पुछ्नु भएको थियो ।

०००

मोबाइलको भाइब्रेसनले एक्कासी झस्किएँ । मन उडेर कता पुगेछ । सायद बादल भन्दा हलुका हुन्छ मान्छेको मन र बेलामौकामा सायद बादल भन्दा भारी पनि । मोबाइल हेरें, उसैको फोन थियो, अलि राहत महसुस भयो । टन्टलापुर घाममा खाली खुट्टा हिंड्दा कसैले चप्पल दिए जस्तो । उस्लाई सबै कुरा भन्छु भनेर फोन उठाएँ, उताबाट ऊ बम्किई ।

“बरु सिधै माया गर्दिन भन न, किन यत्रो नाटक गर्छौ, तिमीलाई मेरो बर्थडे याद रैन’छ । अरु झन् के आश गर्नू मैले ?”

एकचोटी भाउन्न भएर आयो । म यता रातिदेखि न निन्द्रा न भोक भएर बसेको थिएँ । उता ऊ बम्किदै थिई । तालु पोलेजस्तो भो, कन्चट रन्कियो ।

रिसको झोंकमा उत्तर फर्काएँ,“मलाई याँ हिजो के-को तरकारी खाको धरी याद छैन । दुनियाँको जन्मदिन कसरी याद हुन्छ मलाई ।”

त्यसपछि एकचोटी के भयो पनि नसोधी फोन काटी । फेरी फोन गरें, स्विच अफ भन्यो । एकछिन त नरमाइलो लाग्यो । फेरी सोचें, उसको बर्थडे अर्को साल आउला । तर मैले अर्को हजुरबा पाउँदिन ।

०००

“होमप्रसादको मान्छे तपाईं नै हो ?” नर्सले सोधिन् ।

“हो” मैले उत्तर फर्काएँ ।

“तपाईंलाई माथि डाक्टरले बोलाउनु भा’छ ।”

कुदेर माथि गएँ । डाक्टरले स्टेथेस्कोप झिक्दै भने,“संसार यस्तै हो भाइ, मन बलियो बनाऊ, पोस्टमार्टम रिपार्ट एकछिनमा आउँछ ।”

एकछिन त लाग्यो मेरो टाउकोमा कसैले घन बजारेको छ । म हजारौं तल्लाको बिल्डिंगबाट खस्दै छुँ । भनन्न रिंगाटा लाग्यो । घरमा फोन गरें । मन थाम्न सकिनँ । ट्वाइलेटमा गएर डाँको छोडेर रोएँ ।

मानिसहरु भन्छन्,“छोरा मान्छे रुनु हुँदैन ।”

तर, अक्सर ताप र चाप परेपछि ढुङ्गा त रसाउँछ, आँखा के चिज हो र !

थाहा पाएँ, दैब पनि निर्धो रहेछ ।

संसारको नियती खोटो छ सायद । जीवन चल्नै पर्छ जसरी पनि ।

०००

सायद १०-१२ दिनपछि फेसबुक खोल्दै थिएँ सायद । जमेर बसेका नोटिफिकेसन देखिए । म्यासेजको बत्ती बलेको थियो । हतार गरेर खोलेर हेरें । उसैले १२ दिन अगाडि पठाएको म्यासेज थियो । खोलेर हेरें ।

“तिमी सँग भेटिनु, मेरो जिन्दगीको सबै भन्दा ठुलो गल्ती थियो । गुडबाइ ।”

त्यो दिन थाहा भयो साला दुनियाँ स्वार्थी छ ।

लाग्यो ती आफन्त नि के आफन्त, जस्ले दुःख परेको बेला हाँसी हाँसी छुरा रोप्दैनन् ।

म्यासेजको रिप्लाई गर्न खोजें, गएन । फोन गरें, लागेन । मोबाइल मैं म्यासेज पठाएँ, रिप्लाई आएन ।

उसका साथीहरु मार्फत खबर पठाएँ तर उस्को ब्यवहार यस्तो थियो कि मानौं हामी बिच केही थिएन । मन मनै सोचें “देखाइस् तेरो माया !”

बुझ्न खोज्नेलाई पो बुझाउनु, कान र दिमाग बन्द गरेर बसेकालाई कसरी सुनाउनु ! के गरी बुझाउनु !

गलत को थियो थाहा छैन । तर सही र गलत भन्दा कैयौं गुणा कठोर नियती भोगें मैले सायद ।

दुइ चार दिन त मन खिन्न भो । केही गुमाए जस्तो ।

पछि पनि कतिचोटी म्यासेज गरिहालौं जस्तो लागेर म्यासेज लेखें पनि तर सेन्ड गरिंनँ । लाग्यो जिन्दगी जसरी पनि चल्छ कोही सँग या कोही बिना ।

पछि सोचें गोरेटोमा हिंड्दा-हिंड्दै दोबाटोमा छुटिजाने छायाँहरुलाई जिन्दगीको के गुनासो गर्नु खै ?  जिन्दगीलाई जिन्दगी कै रफ़्तारमा छोडिदिएँ ।

०००

खलासीको “ओ…बिर्तामोड…झापा…सिट खाली”ले झस्किएँ ।

मन उडेर कता पुगेछ । नउडोस पनि कसरी ! लगभग सात बर्ष पछि देख्दै थिएँ उही उसैको आकृतीलाई । डेढ़ सयको कालो चस्माको घेरा भित्रबाट नियाल्दैं छुँ उसैको आकृतीलाई ! गाडी हिँड्ने तरखरमा छ । देख्छु उही आकृती मेरै बस भित्र चढ्छ । उही आकृती मेरो कालो चस्मा र मास्कले ढ़ाकेको आकृती अगाडि ठिंङग उभिन्छ ।

र, मसँगैको खाली सीटलाई देखाउँदै भन्छ:

“दाइ तपाइँ यो सिटमा बस्नुस् न । त्यो झ्यालको सिट मलाई छोड्दिनु । मेरो बच्चा सानो छ, मलाई भमिट पनि हुन्छ ।”

कानमा एडेल कराइन् “हेल्लो फ्रम दि अदर साइड ।”

०००

०००

प्रतिक्रिया दिनुहोस्