Logo

मेरी आमा ( सन्दर्भ : नारी दिवस )



Spread the love

शान्ति भण्डारी

म उदाएको उद्गम स्थल

मेरी आमाको गर्भ हो भनेर गर्व गर्दछु

अलौकिक काखको ममता प्रति नमन गर्दछु !

म बाच्ने त्यो अनुपम आहाराको

स्पर्श सदैव गर्दछु,

म बाच्न सिकेको

कौशिलताको उपयोग गरिरहन्छु

हो त्यसैले

म मेरी आमाको गीत गाइरहन्छु !

 

सानोमा म बिरामी पर्दा मेरी आमा

छ्ट्पटाउदै रसाएका आँसुहरु

अहिले पनि टलपलाई रहन्छन

अनि,

म शान्तले निदाएका पलहरुले

आमालाई अहिले पनि

खुशी तुल्याइरहन्छन !

 

बाल्यकालमा मैले गुन्जाएका भाकाहरु

मेरो आमालाई सम्झनाका

मिठा अतीत बनेका छन्

अनि,

मेरो जिद्दी स्वभावले ठुस्सिएका क्षणहरु

मेरी आमालाई पूरा गर्न रहर

बानी बनेका छन् !

 

आफ्नो इच्छा अस्ताएर

परिवारको खुसी रुग्ने

मेरी आमाको महानता

अमुल्य छ ।

अनि

आफ्नै बाउआमालाई त्यागेर आएकी

मेरी आमा

सन्तानको रहर बाध्ने हृदय विशाल छ

 

मेरो भोको पेट कहिल्यै रहेनन् होलान

मेरा रहरहरु कहिल्यै बन्द भएनन् होलान्

मेरो कल्पनाहरु सिमित भएनन् होलान

मेरो पाइलाहरु कहिले रोकिएनन् होलान्

अनि,

सबै सबै

सन्तानका आकांक्षाहरु अबरुद्ध भएनन् होलान्

तर

आज मेरी आमाको

पारिवारिक बन्धनले लगाम लगाएको छ

सामाजिक बन्धनले कसी लगाएको छ

कानुनको कार्यान्वयन सेलाएको छ

अनि

सबैभन्दा ठूलो सन्तानको साथ पनि हराएको छ

 

हो आजबाट

मेरी आमाको लागि

सम्पुर्ण आमाको लागि

मैले अन्यायको आवाज उठाउनेछु

समानताको अधिकार दिलाउनेछु

अवसरको ढोका देखाइ दिनेछु

कानुनको पाठ सिकाइदिनेछु

पारिवारिक साथ बढाइदिनेछु

सामाजिक सम्बन्ध बलियो बनाइदिनेछु

अनि

मेरा सपनाहरु पूरा गर्ने त्यो बिशाल छातीको

सधैं सधैं

आदर र सम्मान गरिरहनेछु !!

०००

०००

प्रतिक्रिया दिनुहोस्