Logo

त्यो रुख ( कविता )



Spread the love

आभास

त्यो रुख

आज ढलेको छ

एकै रातमा हुँदो रैछ है कत्रो परिवर्तन

हिजो सम्म रुख ठाडो उभिएको थियो !

आज रुख ढलेको छ !

 

उसको मलामी जाँदा हुन्

त्यहि रुखमा गुँड बनाएर बसेका चराहरु

उनीहरुको चिरबिर आज एकोहोरो सुनिने छ –

शंख फुकाई जस्तो !

त्यो रुख

आज ढलेको छ !

 

उसको मलामी जाँदा हुन्

उसको छहारीमा बसी बाघचाल खेल्ने दुई बुडापाकाहरु

बाख्रा बाघले खाएमा केही चिन्ता छैन उसलाई

आज त रुख ढलेको छ !

 

हावा नचली पात हल्लिन्न

अब हावा चले नि पात नहल्लिने भो !

आज त रुख ढलेको छ !

 

त्यो रुखको वियोगमा ती चराहरुले झारेको आँसु

छहारी नपाएर बुडापाकाहरुले बगाएको पसिना

अर्को रुख ठडिनलाई पुग्ने जल बनोस् !

 

जाउँ मलामी अब !

आज रुख ढलेको छ !

०००

०००

 

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्