ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएकोमा नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले एक शोक वक्तव्य जारी गर्दे विद्यार्थी जीवनदेखि निकै संघर्ष गरी अगाडी बढेका मन्त्री अधिकारीको निधनमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र मन्त्री अधिकारीको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका साथै व्यक्तिगतरुपमा पनि भद्र र सुयोग्य नेता भएको उल्लेख गरेका छन् । यसैगरी देउवाले यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट देशले एक सफल व्यवसायी गुमाएको बताएका छन् । दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको शोक वक्तव्यमा उल्लेख छ । साथै दुर्घटनाको बारेमा छानविन गर्न पनि उनले आग्रह गरेका छन् ।