भरतपुर १५ चितवनमा बन्न लागिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण जनस्तरबाट नै हुन लागिरहेको छ । राष्ट्रिय गौरवकै रुपमा हेरिएको यस रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनले आर्थिक संकलनको कार्य तिब्ररुपमा गरिरहेका छन् । केही समय अगाडी पनि मलेसियामा रंगशाला निर्माण सहयोगार्थ कार्यक्रम गरी ३५ लाख संकलन गरेर आएका उनीहरुले देशलाई विश्वमा नै चिनाउने रंगशाला निर्माणका लागि सहयोग गर्न अपिल गरिरहेका छन् ।
यसैबीच रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न सकिने भएको छ । सिताराम कट्टेल एक् भिडियो सन्देश जारी गर्दे ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन्।नेपाली मौलिक शैलीमा निर्माण हुन लागिरहेको रंगशाला बहुआयामिक हुनेछ । क्रिकेट रंगशाला भनिएतापनि त्यहाँ अन्य खेलहरु पनि खेलाउन सकिनेछ ।
रंगशाला निर्माणका लागि फिल्डको काम सुरु भईसकेको छ भने फाउन्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चितवनको रामपुरमा शाखा कार्यालय समेत सञ्चालन गरिसकेको छ। करिब ३ अर्ब लगानीमा निर्माण हुन लागिरहेको रंगशालाका लागि हिजोमात्र कर्मचारीको माग समेत गरिएको छ । फाउन्डेशनले २ बर्षभित्र निर्माण सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।