६ फागुन, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने सहकरीलाई कारवाही गर्ने बताएका हुन् ।
कामपा अन्तर्गत अहिले एक हजार ८५६ सहकारी भए पनि ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । आजभन्दा ११ वर्षअघि स्थापना भएको निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लिले समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी समाजकै हितमा परिचालन गर्दै आएको छ ।
संस्थाका सदस्यलाई बेलाबेलामा तालीमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुने भएकाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिरहेको संस्थाका सचिव रमेश पोखरेलले बताए ।
कामपाले आफ्ना मातहतका सहकारीको सञ्चालनका लागि ‘सहकारी ऐन २०७४’ जारी गरेको छ । संस्थाका अध्यक्ष झपटबहादुर बोहराले सहकारीले नाफामूलक भन्दा पनि नागरिकको सेवालाई दृष्टिगत गरी काम गर्नुपर्नेमा जोड दिए ।