अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसंग जोडिएको सिमानामा पर्खाल बनाउन भन्दै सांसदमा ५ अर्ब ७० करोड डलर बजेटको माग गरेका थिए । तर सांसदहरुले उनको यस प्रस्तावमा सहमती जनाउन अस्वीकार गरेका थिए । पछि ट्रम्पले सरकारी कामकाज नै ठप्प पार्ने चेतावनी दिएपछि केही समय अगाडी सांसदहरुले १ अर्ब ४० करोड अमेरिकी डलर बजेट विनियोजनका लागि सहमती जनाएको खबर थियो । यता ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसद्लाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने योजना बनाएको भन्दै आलोचना सुरु भएको छ ।
बिपक्षी दलका सांसदहरुले ट्रम्पले शक्तिको चरम दुरुपयोगू गर्न लागेको भन्दै आलोचना गरेका हुन् । खर्च विधेयकलाई सिनेटले समेत पारित गरिसकेको छ। अब त्यो विधेयक डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधिसभामा पुगेको छ।अमेरिकी संसद्ले पारित गरेपछि मात्र त्यो विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन्। विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन पाँच अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरिरहेका छन्।
यता ट्रम्पको योजना पुरा हुन पर्याप्त बजेट नपाएपछि बिवाद चुलिएको हो । त्यसैले ट्रम्पले मेक्सिकोको सिमामा पर्खाल बनाउनको लागि नै अमेरिकामा सङ्कटकाल घोषणा गर्ने तयारी गरेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । किनभने सङ्कटकाल घोषणा भएको अवस्थामा ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएका बजेट पर्खाल परियोजनाका लागि लैजान सक्छन्।
तर डेमोक्र्याट तथा केही रिपब्लिकन नेताहरूले राजनीतिक प्रक्रियालाई बलमिच्याइँ गर्ने र सङ्कटकाल घोषणा गर्ने ट्रम्पको योजनाप्रति आपत्ति जनाइरहेका छन्। पछिल्लो समय मेक्सिकोबाट रोकतोक गर्दा पनि आप्रवासीहरु अमेरिका छिर्न थालेपछि ट्रम्प यसलाई रोक्ने योजनामा रहेका छन् । ट्रम्पले अमेरिकामा हुने अधिकांश आतंककारी घटनाहरु आप्रवासीहरुबाट नै हुँदै आएको बताउँदै आएका छन् । देशको सुरक्षाका लागि पनि सिमामा पर्खाल बनाउनु पर्ने उनको अडान छ ।