मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सीएमसी दी राभेनालाई नै फर्काउन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले पहल शुरु गर्नुभएको छ ।
मेलम्ची खानेपानी विकास समितिले गत महिना ठेक्का सम्झौता तोडेपनि मन्त्री मगरले पुरानै कम्पनीमार्फत काम सक्न पहल गर्नुभएको हो । नयाँ ठेक्का सम्झौतामार्फत काम गर्दा समय र लागत दुवै बढ्ने भन्दै उहाँले ठेकेदार कम्पनीलाई नै फर्काउन वार्ता टोली सिङ्गापुर पठाउनुभएको थियो ।
मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, मन्त्रालयका कानून शाखामा कार्यरत उपसचिव गुणराज श्रेष्ठलगायतको टोली वार्ताका लागि गत साता सिङ्गापुर पुगेको थियो । कम्पनीलाई काममा फर्कनका लागि आवश्यक वातावरण मिलाउने बारेमा छलफल भएको उपसचिव श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्