Logo

बनेपा नगरपालिकाद्वारा प्रहरीलाई जग्गा



Spread the love

१६ माघ, काभ्रेपलाञ्चोक — बनेपा नगरपालिकाले आफ्नो नाममा रहेको दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपालाई प्रदान गरेको छ । लामो समयदेखि जग्गा अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्दै आएको इप्रका बनेपालाई वडा नम्बर आठस्थित दक्षुटोलमा रहेको तीन करोडभन्दा बढी मूल्यको जग्गा पास गरिदिएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए ।

उक्त जग्गा हाल सावि गर्दा पाँचवटा कित्तामा परिणत भएको छ भने एक हजार १७ दशमलव ५० वर्गमिटर रहेको उक्त जग्गा दानपत्रको लिखत गरी इप्रका बनेपाका नाममा हस्तान्तरण गरिएको हो । जग्गा व्यवस्थापनसँगै इप्रकालाई सुविधा सम्पन्न भवन निर्माणको बाटो खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

प्रहरी उपरीक्षक खड्काले भने, “इप्रका बनेपालाई जग्गा प्राप्तिपछि प्रहरी निरीक्षक तहको दरबन्दीबाट थप गरी प्रहरी नायब उपरीक्षक रहने गरी व्यवस्थापन गर्न सजिलो भएको छ ।” उनका अनुसार यसअघि जनसङ्ख्या र भौगोलिक अवस्थाका आधारमा इप्रका बनेपालाई स्तरोन्नति गर्न जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयमा सिफारिश गरिसकेको छ ।

जग्गा सम्झौताअनुसार प्रहरी कार्यालयले कसैलाई बेचबिखन गर्न पाउने छैन । सम्झौतापत्रमा इप्रका बनेपाका इञ्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराई र नपाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतालगत्तै जग्गा दानपत्रमार्फत जिल्ला मालपोत कार्यालयले इप्रका बनेपाका नाममा लालपुर्जा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्