नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन् ।नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उनले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए ।आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उनले पार्टी गुट उपगुटले ध्वस्त भएको बताए । यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उनको भनाइ थियो ।
आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली काङ्ग्रेसलाई कसैले जित्न नसक्ने उनको भनाइ थियो । अहिले आम नेतृत्वले काङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उनले बताए ।यस्तै अर्का नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण काङ्ग्रेस कमजोर बनेको बताए । पार्टीलाई चलायमान बनाउनका लागि तत्काल सङ्घीयताको आधारमा पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेको आचार्यले बताए ।
नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नेपाली काङ्ग्रेस आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताए । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।सो अवसरमा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, कोषाध्यक्ष शिब वराल लगायतले बोलेका थिए । कार्यक्रममा कृयाशिल जेष्ठ सदस्य १० जना र पार्टीलाई विभिन्न समयमा सहयोग पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो । रासस