मानिसहरू मरे पछि कहाँ जान्छन् ? स्वर्ग या नर्क । तर कोही गएर फर्केको चाहिँ छैन । हो ! स्वर्गको तारिफ बढी गरिन्छ किनकि स्वर्ग जाने सबै मानिसहरू पापी हुदैनन, कसैलाई छलकपट गर्दैनन्, सबैको भलो चिताउने, अहिंसामा नलागेको, सत्य र न्यायको पक्ष लिने मानिसहरू मात्र स्वर्ग जान्छन् भन्ने विश्वास छ । जो कोहिलाई पनि स्वर्ग जाने रहर लाग्छ नै । मलाई पनि लाग्ने गर्छ तपाईँलाई जस्तै ।
अनि नर्क ।
जो पापी छ या अघि मैले स्वर्गको तारिफ गर्दा जुन जुन कुराहरू भने त्यसको ठिक विपरीत । जो मानिस पापी छ, जो धर्ममा विश्वास गर्दैन, जसले अन्याय गर्छ, जसले सत्यलाई असत्यको बाटोमा हिडाउछ उनीहरू मात्र नर्कमा जान्छन् र आफूले पृथ्वीमा गरेका पापको सजाय भोग्छन् ।
यी त आफ्नो जीवन समाप्त भएपछि या आफू मरिसकेपछी जाने ठाउँहरू स्वर्ग र नर्क । तपाईँ जिउँदै छँदा स्वर्ग गएको या भनौ तपाईँ अहिले यो समय चलिरहँदा स्वर्ग कोही गएको सुन्नुभएको त छैन होला । जिउँदै छँदा नर्क जाने कुरा गरेर किन समय बर्बाद गर्ने हैन ? आउनुहोस् म तपाईँलाई जिउँदै स्वर्ग लाने प्रयास गर्छु !
स्वर्ग भन्दा बित्तिकै हामीहरू कोही पनि जमिन तिर त हेर्दैनौ होला ! कसैले म हेर्छु भनेर जिद्वि गर्छ भने म उसलाई बचाउन सक्दिन । मेरो सन्दर्भमा भने म आकाश तिर हेर्ने गर्छु ! उ ती बादल पारिको स्वर्ग । सिकाउन पनि सानोमा हजुरबुबाले मलाई स्वर्ग आकाशमा देखाउँदै उ ती आकाशमा स्वर्ग हुने कुरा सिकाउनु भएको थियो । म अझै पनि त्यही आकाशमा हेर्ने गर्छु । स्वर्ग देख्नको निम्ति ।
नेपाल देशको प्युठान जिल्लामा पर्ने पवित्र तिर्थस्थल स्वर्गद्वारी भन्ने एक ज्ञानोभुमी छ । यसलाई तपोभुमी, यज्ञभुमी आदि नामकरणले पनि पुकारिन्छ । अङ्ग्रेजीमा हेभेन्स डोर (Heavens Door) ले चिनिने स्वर्गद्वारी साच्चिकै स्वर्ग जत्तिकै प्यारो छ । म पनि गए यस प्यारो ठाउँमा पहिलो पटक । घर मेरो गुल्मीको सिमलटारी । मेरो घर देखी (गुल्मीबाट) करिब १ दिनको यात्रा गरेमा स्वर्गद्वारी मज्जाले पुगिन्छ । यात्रा सुर गरेपछि डेस्टिनेशनको बारेमा सबै यात्रीलाईहरुलाई उत्सुकता हुन्छ नै । मलाइ पनि थियो । म पहिलो पटक जाँदै थिए स्वर्गद्वारी ।
मेरो यात्रा प्युठानको मछी बजार बाट हुँदै थियो । म अघिल्लो दिन नै फुपू दिदीको घरमा आएर बसेको थिए । फुपूको मछीमा एग्रोभेट पसल छ । मेरो भिनाजु एग्रो भेटेरियन । २ सन्तान (सुवास र सागर ) सुखी परिवार भन्न रुचाउँछु । म मछी आएको अर्को दिन बिहानै प्युठानको सदरमुकाम खलङ्गा जाने बस बिहान ७ बजेको समाएर म स्वर्गद्वारीको यात्रा तर्फ लागे । म मछी हुँदै बाग्दुल्ला । बागदुल्लामा ओर्लिएर सानो माइक्रो (इ-रिक्सा ) समाएर भिङ्री तर्फको यात्रामा सामेल भएँ ।
देवा घर्ती र कुलमान नेपालीको गित” माडी खोला तरेर सानु सँगसँगै चोखो माया लगाउदै सानु” सुनेको थिए । मनमा माडी खोला हेर्ने उत्सुकता थियो । मैले पहिलो पटक माडी खोला देख्दै थिए । चकचके बाट यात्रा भिङ्री तर्फ लम्किरहेको थियो । प्युठानको मनोरम दृश्यले मनै लोभ्याइदियो । म चढेको ई-रिक्सा बागदुल्ला बाट रोल्पाको लिवाङ्ग सम्म जाने रैछ । उनीहरूको त्यो आवतजावत गर्ने रुट । म बिचमै भिङ्रीमा ओर्लिएँ । म मछि बाट हिँडेको बिहान ७ बजे, भिङ्री पुग्दा बिहानको ९:३० भएको थियो । चिया नास्ता भिङ्रीमै गरेँ । मेरो यात्रामा म एक्लै थिए । भिङ्री बाट सिरानमा रहेको स्वर्गद्वारी देखिने रैछ । विभिन्न ठाउँहरूबाट म जस्ता युवाहरू बाइकमा स्वर्गद्वारी जाँदै थिए, त कोही रिजर्व बसमा स्वर्गद्वारीबाट फर्किँदै थिए । यसै क्रममा खाजा खाने ठाउँमै काठमाडौँबाट एउटा स्कुलका स्टाफहरू, करिब ४० जना माथि स्कर्गद्वारीबाट फर्किँदै थिए । उनीहरू पनि त्यही नास्ता पसलमा खाजा खाए । म भने स्वर्गद्वारी जाने सवारी खोजिरहेको थिए । त्यहाँ बाट रुटको गाडी (जिप) दिउसोको १२ बजे जाने रैछ । त्यस्तै बेलुका ४ बजे चाहिँ बुटवल बाट आउने बस । बाकी समयमा भिङ्री बाट, कि त गाडी रिजर्ब गर्नु पर्ने, कि त रुटका गाडीहरूलाई कुर्नु पर्ने । म कुर्ने पक्षमा थिइन । र फेरि यात्रामा एक्लै थिए । अघिल्लो दिन नै भिङ्री आएर बास बसेका दुई जना स्याङ्जाका जोडीहरू भेटिए । भर्खरै विवाह गरेका नव दम्पती रहेछन् । हामी ३ जन भैयो स्वर्गद्वारी जाने । त्यस्तै १,२ गर्दा गर्दै ८ जना भयौँ । तब ई-रिक्सा रिजर्ब गर्ने त्यारी भयो । ई-रिक्सालाई २००० दिने सर्तमा हामी सबै राजी भयौँ । र भिङ्री बाट बिहानको दश बजे तिर एउटा छुट्टै उत्साह, उमङ्ग बोकेर लाग्यौँ स्वर्गद्वारी तर्फ ।
बाटो नयाँ बनेको तर पिज भने भएको थिएन । “पहिलेको बाटो धेरै अप्ठ्यारो थियो नाई भने त ई-रिक्सा कहाँ जान सक्थ्यो ?” ड्राइभरले भन्दै थिए । नयाँ बाटो भने अलि बढी मोहडा र घुमाउरो रैछ । तर लामा-लामा बसहरू पनि सजिलै जान सक्ने । अबको १ वर्ष भित्र पिज हुने कुरा छ बाबु भन्दै थिए गुरजि । लगभग साढे १ घण्टा को यात्रा पश्चात् हामी स्वर्गद्वारी को बेसमा पुग्यौँ । त्यहाँ बाट माथि गाडी नजाने रैछन । बेसमा रहेको मूल गेटबाट सिडी नै सिडी चढेर स्वर्गद्वारी जानु पर्ने । करिब १५ मिनेट हिडिसकेपछी पवित्र स्थल स्वर्गद्वारीको मुख्य द्वारमा आइपुगियो अझ भनौ मेरो यात्राको डेस्टिनेशन आइपुगियो । अहो हेर्दा आँखा नै नबिझाउने जति हेर्यो उति हेर्न मन लाग्ने हेरौँ हेरौँ लाग्ने स्वर्गद्वारी साच्चिकै हेभेन्स डोर (Heavens Door) नै रैछ । हामी ३ जना सँगै थियौँ । मैले अघि मेन्सन गरेको नव जोडीहरू सँग म । हामी स्वर्गद्वारीको मूल द्वार देखिने नै दर्शन गर्दै अघि बढ्यौँ । १२ बजे भित्र स्वर्गद्वारीको मूल मन्दिरमा दर्शन गरेर सकियो ।
म त्यो दिन स्वर्गद्वरिमै बस्ने भनेर गएको थिए । म फर्किने कुरा नै थिएन । म सँग गएका नव जोडीहरू भने छिटो छिटो दर्शन गरेर फर्किने भन्दै थिए । १२ बजे भित्रमा दर्शन अनि स्वर्गद्वारी समग्र घुमघाम गरेर मेरा साथीहरू फर्किए । म एक्लै थिए । अब भने एक्लै पाएको मौका छोपेर म त्यहाँको वस्तुस्थितिको अवलोअन गर्ने जमर्को गरे । स्वर्गद्वारीमा एक सय पच्चिस वर्ष पहिलेको अग्नि छ । परापूर्व कालमा एक जना ऋषिले स्वर्गद्वारी तपोभुमिमा तपस्या गरिरहेका बेला उहाँबाट निस्किएको शक्ति स्वरूप अग्नि, आगो बलेको र त्यही आगोको अग्नि अहिले सम्म निभ्न नदिइएको जनविश्वास रहिआएको छ । थुप्रै २० भन्दा बढी गिरि सन्तहरूले यहाँ पुस्ता हस्तान्तरण गर्दै आएका छन् । परापुर्वकालमा गुरुकुल शिक्षामा आधारित रहेर अहिले पनि यहाँ शिक्षा दीक्षा दिने गरिन्छ ।
देशका भिन्न भिन्न ठाउँका ब्रह्माणहरु यहाँ शिक्षा लिन आउदछन । यिनीहरू कक्षा १० सम्मको शिक्षा यहाँ बाट लिने गर्दछन् भने बाकी शिक्षा लिन भने यहाँ देखि बाहिरिनु पर्छ । अहिले स्वर्गद्वारीमा १०० को हाराहरिमा विद्यार्थीहरू पठनपाठन गर्ने गर्दछन् । यिनीहरूलाई पढाउने ब्राह्मण भने २५ देखि ३० को हाराहारीमा छन् । करिब ४०० भन्दा बढी गाईबस्तु हरूछन् । यिनीहरूलाई स्याहर्ने सरसफाइमा ध्यान दिनेहरूको सङ्ख्या र मेषमा खाना पकाउने सम्पूर्ण कुल जोडेर २५०-२७० सम्म यहाँ बस्ने गर्दछन् ।
स्वर्गद्वारीमा वर्षको सबैभन्दा ठुलो मेला कार्तिक कृष्ण औंसीमा लाग्ने गर्दछ । यो मेलामा अथवा स्वर्गद्वारी गएपछि त्यहाँ रहेका गाइहरूलाई दाना र नुन खुवाए ठुलो धर्म हुने जनविश्वास पनि रहिआएको छ। सिजनमा दिनको १०००-१५०० को हाराहरिमा पर्यटक आउने गर्दछन् । साधरणतया २००-५०० नियमित पर्यटक आउँछन् । मैले यहीँ पढिरहेका २ जना विद्यार्थी हरू सँग साक्षात् कार गर्ने अवसर पाएँ । उनीहरूबाट स्वर्गद्वारीको बारेमा थप ज्ञान लिएँ । ती दुई जना विद्यार्थी ८ कक्षामा पढ्दा रहेछन् । एउटाको घर चितवन र अर्काको चाहिँ काठमाडौँ भन्दै थिए । पढाइमा अब्बल जस्तो लाग्यो । २,४ पेजका ज्यादै अप्ठ्यारा श्लोकहरू पनि उनीहरू कन्ठस्तै सुनाउँथे ।
स्वर्गद्वारीमा दैनिकी छुट्टै प्रकारको छ । यहाँ बिहान ४ बजे देखि बेलुका ११ बजे सम्म पुजारीहरू लगायत सबै जसो व्यस्त रहने गर्दछन् । यसरी समय तालिका गराइएको छ ।
स्वर्गद्वारी पुगिसकेपछी घुम्नै पर्ने ठाउँ अथवा नछुटाउनु पर्ने स्थानहरू ।
- गुफा
- मुख्य मन्दिर
- गौशाला
- शिव मन्दिर
- आर्मी क्याम्प माथिको मन्दिर
यहाँको सुन्दरताको कुरा गर्दा यहाँबाट देखिने, मनै लोभ्याउने खालका मनोरम दृश्यहरू चारै तिर देख्न पाइन्छ । हिम शृङ्खला तथा सूर्यको बिहानी पखको सनराइज हेर्दा त कतै म स्वर्गमै छु जस्तो आभास हुन्छ ।