११ पुस, काठमाडौँ – संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् ।
पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–१२ बस्ने नकुल तामाङ र सर्लाहीको साविक नारायणखोला गाविस–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोल बस्ने रङ्गबहादुर ब्लोन रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
अवैध रुपमा खरिद बिक्रीका लागि ओसारपसार गरी ल्याएको अवस्थामा सोमबार उनीहरुको साथबाट संरक्षित पंक्षी लाटोकोसेरोको समेत उद्धार गरिएको छ ।
अवैध कार्यमा संलग्न उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । उनीहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा अगाडि बढाइएको छ ।